मंगलबार, ४ कार्तिक २०८२

चुनाव सफल पार्न दलहरुले सरकारलाई सहयोग गर्नुपर्छः पुन

समयपोष्ट २०८२ कार्तिक ४ गते १५:०४


नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन् ।
तिहार, नेपाल सम्वत र छठ लगायत वर्षका अवसरमा मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्ने आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए । उनले काँग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे ।
‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौं र अरु दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं ।’
केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए ।
‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । नारायणकाजी कमरेड म गएका थियौं । हामीले भन्यौंं चुनावको पक्षमा छौं । हामी चुनावको वातावरण बनाउछौं तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं,’ पुनले भने ‘आज पनि सात पार्टीहरुलाई राष्ट्रिय पार्टीहरुलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ । हामी जान्छौं । हामी यही कुरा भन्छौं ।’

Advertisement

पुनले २३ गनेको जेनजी आन्दोलन सही भएको र २४ गतेको विध्वंश जेनजीले नभई घुसपैठिया समूहले गराएको बताए । २३ र २४ गतेका दुवै अपराध कर्ममा संलग्माथि कारबाही गर्न पुनले सरकारसँग माग गरे ।
विघटित प्रतिनिधिसभाका दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेनजी आन्दोनलमार्फत विष्फोट भएको पुनको भनाइ थियो । ओलीको स्वेच्छाचारिता, निरंकुशता र भ्रष्ट चरित्रविरुद्ध नयाँ पुस्ताको अगुवाइमा जनता सडकमा आएको पुनले बताए । प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरुले पटकपटक कार्यशैली सुधार्न र जनताको भावना बुझ्न आग्रह गरे पनि सरकारले नसुन्दा विस्फोटको अवस्था आएको उनले उल्लेख गरे । आफ्ना अध्यक्ष प्रचण्डले जनताको सोही आक्रोश समयमै बुझेर लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्नै आउँछन् भनेको स्मरण पुनले गरे । तर, सोही भनाइलाई आधार बनाएर अहिले केही शक्तिले सिंहदरबार जलाउन माओवादी संलग्न रहेको भन्दै आरोपित गर्न खोजेको बताए । प्रचण्डले सिंहदरबार जलाउन नभई सरकारलाई जनतामा बढ्दै गएको असन्तुष्टिलाई सांकेतिक रुपमा व्यक्त गरेको व्याख्या पुनले गरे । माओवादी र अरु पार्टी एकै हुन् भन्ने न्यारेटिभ स्थापित गर्ने प्रयास भइराखेको भन्दै उनले सुशासनको मामिलामा अरु र माओवादी फरक भएको दाबी गरे । संयोजक प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेको काम त्यसको उदाहरण भएको तर्क पुनको छ ।
पुनले विगतमा चर्चामा रहेका सबै भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने भन्दै त्यसमा सघाउन आफ्नो दल तयार रहेको प्रतिबद्धता जनाए । आफूहरुले सरकारमा बसेर पार्टी नेता कार्यकर्ता, समर्थक र मतदाताको शिर निहुराउने काम नगरेको पुनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री