जेन–जी घाइतेसंग प्रधानमन्त्रीले भनिन्– ‘आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं’
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेहरूसँग मंगलबार बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन्। बिहान १०:३० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ।
१८ जना घाइतेको समूहले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न र दमनकारीहरूमाथि तत्काल कारबाही गर्न सरकारलाई सुझाव दिएको छ। घाइतेहरूको नेतृत्व गरेका रुपिन खड्काले भने, “जसकाविरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई पक्राउ गर्न केले छेकेको छ? नियम, कानुन वा संविधानले? जहाँ बाधा छ, त्यहीँबाट फुकाउन सुरु गरौँ।” भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनको प्रगतिबारे जानकारी गराए। उनले भाग्न खोज्ने र लुकेकाहरू पनि अब “नेपालमै छु” भन्दै देखापर्न थालेको दाबी गरे। घाइतेहरूले भने कतिपय आरोपित व्यक्तिहरू भाग्ने र अकुत सम्पत्ति लुकाउने प्रयासमा रहेको भन्दै चिन्ता व्यक्त गरे।
छलफलमा ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो। घाइतेहरूले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै भने, “तपाईँहरू चुनावको कुरा मात्र गर्नुहुन्छ। के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?”
प्रधानमन्त्री कार्कीले जवाफमा भनिन्, “हामी जेन–जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत र कानुनी रूपमा तल नपर्ने गरी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ।” उनले राज्यका निकायहरूले तीव्र गतिमा छानबिन गरिरहेको र नतिजा चाँडै देखिने दाबी गरिन्। “तपाईँहरू बोल्न नछाड्नुहोस्, हामीलाई दबाब दिन नछाड्नुहोस्। छानबिनमा परेपछि बाहिर कसले के बोलिरहेका छन्, सुन्नुभएकै होला,” उनले थपिन्।
प्रतिक्रिया