मंगलबार, ४ कार्तिक २०८२

तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी

डा दीपेन्द्र रोकाया २०८२ कार्तिक ४ गते १३:०६

Advertisement

नेपाल विविध संस्कृति, परम्परा र धर्मावलम्बीहरूले भरिएको हुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्र हो । यस्ता विविधताबीच चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई गहिरो बनाउने काम गर्दै आएका छन् ।

तिनै चाडपर्वहरूमध्ये तिहार नेपाली समाजमा अत्यन्त लोकप्रिय, रङ्गीन र अर्थपूर्ण पर्व हो । यस पर्वलाई दीपावली, यमपञ्चक वा भाइटीकाको नामले पनि चिनिन्छ । तिहार केवल धार्मिक पर्व मात्र मानिएको छैन, उज्यालो, माया, सम्मान, सह–अस्तित्व र सामाजिक चेतनाको प्रतीक हो । पाँच दिनसम्म चल्ने यस पर्वमा प्रकृति, जनावर, श्रम, परिवार र समाजसँगको सम्बन्धलाई विशेष आदरका साथ स्मरण गरिन्छ । यहाँ तिहारको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्व, आधुनिक परिवेश र समसामयिक राजनीतिक सन्दर्भमा यसको सान्दर्भिकता विश्लेषण गरिएको छ ।

तिहार पर्वको उत्पत्ति र सांस्कृतिक अर्थ। तिहारको उत्पत्तिसँग यमराज र यमुनाको कथा सुन्न पाइन्छ । हिन्दू धर्मग्रन्थ अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई सात रङको टीका लगाएर दीर्घायुको कामना गरेकी थिइन् । त्यसै दिनलाई शुभ मान्दै हरेक वर्ष दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइलाई टीका लगाउने परम्परा बस्यो, जसलाई यमपञ्चक भनिन्छ । यस पर्वका पाँच दिन काग तिहार, कुकुर तिहार, गाई तिहार तथा लक्ष्मी पूजा, गोरु पूजा तथा म्हपूजा र भाइटीकाले सामाजिक र सांस्कृतिक जीवनका विभिन्न पक्ष उजागर गर्छन् ।

कागलाई सन्देश वाहक, कुकुरलाई निष्ठा र सुरक्षा, गाईलाई लक्ष्मीको प्रतीक, गोरुलाई श्रम र उत्पादनको आधार र दिदी–बहिनीलाई माया र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मानिन्छ । यसरी तिहारले मानव,
जनावर, प्रकृति र परिवारबीचको सह–अस्तित्वलाई अभिव्यक्त गर्छ ।

Advertisement

नेपालमा तिहारलाई सामुदायिक उत्सवका रूपमा मनाइन्छ । घर सफा गर्ने, माटोका दियोमा बत्ती बाल्ने, रङ्गोली कोर्ने, देउसी–भैलो गाउने, गोरु पूजा गर्ने र भाइटीका लगाउने चलन छ । गाउँका बुढापाकादेखि बालबालिकासम्म सहभागी हुने यो पर्वले समुदायभित्रको आत्मीयता र सहयोगलाई बलियो पार्दछ । देउसी–भैलोले सामाजिक सम्बन्ध सुदृढ पार्दै तिहारलाई एक सामूहिक चेतनाको पर्व बनाएको छ । देउसी भैलोको पृष्ठभूमि पनि रोचक छ । सवा लाख पर्वतको खसराज्य भाइ भाग लाग्दै सिमित हुँदै गएपछि बलिराजलाई जुम्ला राज्य चलाउन गाह्रो हुन थालेको थियो । राज्यविशेक भएकै वर्ष उनले कैलाश मानसरोवरमा गएर शिवजीसँग धन सम्पतिको वर मागेका थिए । त्यसैबेला मानसरोवर छेउमा भेटिएका थपाल्या व्यासी
समुदायको भग्रीवाल गोठालाले दिएको सल्लाहअनुसार वलिराजको फौजले ताक्लाकोटदेखि हुम्ला, मुगु हुँदै जुम्लासम्म माग्दै आउँदा धेरै धन बटुलेका थिए ।

यसैले कहाँको भैलोले के दियो भनेर कथानक कहानी पनि पुकारिन्छ । यसैगरी हिउँदमा बलिराजले काठमाडौँ पशुपतिनाथ जाने क्रममा दाङ, पाल्पा हुँदै काठमाडौँ पुग्दा त्यही प्रक्रिया अपनाएका थिए । माग्नेले माग्छन्, दिनेले आनाकानी गरे ‘हामी त्यसै आएका होइनाँै, बली राजाले पठाएका’ भनी दिन्छन् । खस देशका राजाले नै पठाएका हुन् भने भैगो त लेउ भनेर दिएको सम्पतिले राज्य चलाउने वार्षिक आधार बनेकोले भैलो संस्कृति निर्माण भएको थियो ।

आधुनिक परिवेशमा तिहार समय र प्रविधिसँगै तिहारको स्वरूपमा परिवर्तन आएको छ । दियाको स्थानमा बिजुलीले लिएको छ । रङ्गीन बत्ती प्रचलित भएका छन् । घरमै बनाइने परिकारहरूको सट्टामा बजारका मिठाई र चकलेटहरू प्रयोग हुन थालेको छ । देउसी–भैलो व्यापक बन्दै गएको छ । कतिपय ठाउँमा त यो व्यावसायिक बनेको देखिन्छ । तर, यस आधुनिकताबीच पनि तिहारको मूल भावना मेटिएको छैन । बरु वातावरणीय चेतना र मौलिक परम्परालाई पुनर्जीवित गर्ने प्रयासहरू देखिन थालेका छन् । प्लास्टिकका सजावट घटाउने, परम्परागत दिया बत्ती प्रयोग गर्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने जस्ता प्रयासहरूले तिहारलाई आधुनिकताको बीचमा पनि मौलिक बचाइ राखेका छन् ।

तिहारको विशेषता प्रकृति र मानवीय सम्बन्धप्रतिको कृतज्ञतामा निहित छ । कुकुर र कागलाई पूजा गर्नु भनेको जनावरप्रतिको माया र सहअस्तित्वलाई स्वीकार गर्नु हो । गाई र गोरुलाई पूजा गर्नु श्रम, उत्पादन र कृषिप्रति कृतज्ञता प्रकट गर्नु हो । भाइटीका त दाजु–बहिनीबीचको निस्वार्थ माया, आदर र सामाजिक एकताको सर्वोच्च प्रतीक हो । यस पर्वले हामीलाई आत्म–आदर (म्हपूजा), श्रमको सम्मान (गोरु पूजा), समृद्धिको कामना (गाई पूजा) र पारिवारिक सम्बन्ध (भाइटीका) को महत्व सम्झाइरहेको देखिन्छ ।

समकालीन राजनीतिक सन्दर्भमा तिहार तिहारको उज्यालो केवल घरभित्र सीमित छैन; यसले समाजका अन्धकारलाई हटाउने प्रतीकात्मक सन्देश दिन्छ । आज नेपाल सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, नातावाद, कृपावाद र असमानताले
समाजलाई कमजोर बनाइरहेको छ । माओवादी जनयुद्धले राजनीतिक रूपान्तरणको बाटो खोले पनि वास्तविक परिवर्तन अझै अपूरो छ । यस्तो बेला तिहारले चेतनाको उज्यालो बालेर नयाँ बाटो देखाउने अवसर दिन सक्छ । विश्वव्यापी जेन्जी आन्दोलनले जस्तै नेपालमा पनि नयाँ पुस्ताले प्रश्न गरिरहेको छ, परिवर्तन केबल नारामा होइन, व्यवहारमा कहिले हुन्छ ? अब समय आएको छ– संविधान संशोधन गरी जनताको अपेक्षाअनुसार पुनःपरिभाषित गर्ने, राजनीतिक स्थायित्व स्थापना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र समाजलाई समाजवादतर्फ रूपान्तरण गर्ने । तिहारमा हामीले दिने सन्देश के हो भने अन्धकार हटाउन उज्यालो बाल्नुपर्छ ।

राष्ट्र निर्माण र सामाजिक रूपान्तरण सबै नागरिकको सामूहिक जिम्मेवारी हो । जब हामी काग, कुकुर, गाई, गोरु र परिवारलाई सम्मान गर्छौं, त्यही क्षण हामी सह–अस्तित्व, श्रम र प्रेमको मूल्य अभ्यास गरिरहेका हुन्छौं । यही मूल्य नै सामाजिक रूपान्तरणको आधार हो । समय र प्रविधिसँगै यसको स्वरूप बदलिँदै गए पनि यसको गहिरो सांस्कृतिक मूल्य अविचलित छ । अहिलेको राजनीतिक र सामाजिक सन्दर्भमा तिहारमा हामीले स्पष्ट सन्देश दिनुपर्छ– जेन्जी साथीहरु, परिवर्तन सुनिश्चित गर्ने बेला आएको छ । जेन्जी उमेर समुह हो । यस उमेर समूहले सबै दल, संघ–संस्था र समाजमा हित समूहको रुपमा काम गर्न सक्नु पर्दछ ।

देश राजनैतिक रुपमा सङ्कटमा छ । असाधारण परिस्थिति सिर्जना भएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर नेकपा (एमाले)ले संसद् पुनस्र्थापनाको मुद्दा उठाएर बसेको छ । नेपाली काँग्रेसले निर्वाचन गर्नुपर्छ तर निर्वाचनको वातावरण बनेको छैन भनेर बीचको बाटो अपनाएको छ । नेकपा
(माओवादी केन्द्र)ले भने स्पष्ट रुपमा निर्वाचन नै अहिलेको निकास हो भनेर अपिल गरेको अवस्था छ । अरु साना दलहरु ठूला दल र सरकारको बाटो हेरेर बोलिरहेका छन् । आम नागरिकले अग्रगामी कदम छनोट गर्ने बेला यथास्थिति लम्ब्याउने र प्रतिगामी खेल खेल्ने समय दिन लगाउनेहरुबाट सचेत हुनु पर्दछ । यसकालागि मिडिया र नागरिक समाजले सक्रियता देखाउन आवश्यक छ ।

अब संविधान संशोधन, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, नातावाद र कृपावादको अन्त्य गर्दै समाजलाई समाजवादतर्फ अगाडि लैजान नागरिक चेतना र जिम्मेवारी लिने बेला आएको छ । यसैले तिहारलाई केबल पर्वका रूपमा मात्र होइन, राष्ट्र निर्माण र रूपान्तरणको प्रेरणाका रूपमा मनाउनुपर्ने आवश्यकता आज झन् तीव्र भएको छ । उज्यालो दियोले जसरी अन्धकार हटाउँछ, त्यस्तै सामाजिक चेतनाले मात्र मुलुकको अन्धकार हटाउनसक्छ । यही अर्थमा विश्वभरका नेपालीजनमा तिहारको हार्दिक शुभकामना !रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री