सोमबार, २७ असोज २०८२

नेप्से परिसूचक उच्च अंकले घटेर बन्द, कारोबार रकम भने बढ्यो

समयपोष्ट २०८२ असोज २६ गते १५:५४


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार उच्च अंकले घटेर बन्द भएको छ। गत बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन ७८.८३ अंकले ओरालो लागेर २५०३.३५ विन्दुमा झरेको छ।

Advertisement

यद्यपि, परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार ५ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आइतबार ३२४ स्टकको ६७,२०२ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार रुपैयाँबराबरको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य आइतबार सर्वाधिक ६.०१ प्रतिशतले बढेको छ। अन्य बढेका स्टकहरूको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। उता, बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.२७ प्रतिशतले घटेको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी र राधी विद्युत कम्पनीको शेयरमूल्य ८.५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३८ करोड ७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३६ करोड नाघेको छ।

आइतबार बजारमा कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.८४ प्रतिशतले घटेको छ। अन्य उपसमूहको परिसूचक ४.७९ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै, वित्त, जलविद्युत, र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ। बैंकिङ, विकास बैंक, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, र व्यापार उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले घटेका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री