श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गते, आइतबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्दैछ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ। यसको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्डबाट प्राप्त भएको थियो।
पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १ लाख ६३ हजार १२५ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९ हजार ९३८ कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १ लाख २३ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता साधारण शेयर निष्काशन गर्नेछ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा असोज २९, २०८२ र ढिलोमा कात्तिक ९, २०८२ मा बन्द हुनेछ।
इक्रा नेपालले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ प्रदान गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया