मंगलबार, ६ साउन २०८२

हिमालयन एभरेस्ट इन्स्योरेन्समा अञ्जु श्रेष्ठ सीईओ नियुक्त, नेपालको दोस्रो महिला सीईओ

समयपोष्ट २०८१ असोज १८ गते २२:१६

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त गरेको छ।

बीमा क्षेत्रको लामो अनुभवका साथ श्रेष्ठ नेपालका जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छन्। कम्पनीले आजैदेखि उनको औपचारिक कार्यकाल सुरु हुने बताएको छ।

अञ्जु श्रेष्ठले बीमा क्षेत्रमा २९ वर्षको अनुभव बटुलेकी छिन्। उनले फागुन १६, २०५२ मा सहायक अधिकृतको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन्। उनको अथक परिश्रम, समर्पण, र उत्कृष्टता प्रतिको प्रतिबद्धताले उनलाई विभिन्न जिम्मेवार पदहरूमा स्थापित गर्दै अन्ततः हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओको पदसम्म पुर्याएको हो।

श्रेष्ठले नियुक्तिको अवसरमा आफ्नो विचार राख्दै भनिन्, “हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको छु। अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधानहरू प्रदान गर्ने हुनेछ। मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो।”

कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले पनि यो नियुक्ति प्रति आफ्नो विश्वास व्यक्त गर्दै भने, “हामी विश्वस्त छौँ कि अञ्जु श्रेष्ठले बीमा क्षेत्रका अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझ्नुभएको छ र उनले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई अझ उचाइमा लैजान सक्षम हुनुहुनेछ।”

अञ्जु श्रेष्ठको नियुक्तिले नेपालको बीमा क्षेत्रमा महिला नेतृत्वको महत्त्वपूर्ण उपस्थिति देखाउँदै समावेशीकरणको दृष्टिकोणलाई बलियो बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री