शनिबार, १५ वैशाख २०८१

फेसन डिजाइनिङ व्यवसायमा महिलाहरुले पाए यस्तो सफलता

समयपोष्ट २०७४ कार्तिक १२ गते ४:०३

गोपालप्रसाद पोखरेल 

Advertisement

आर्थिक अवसर , खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुल्होचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् । 

यसैक्रममा मोरङको उर्लाबारीमा बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी उर्मिला राई श्रेष्ठ सफल महिला उद्यमी भएर समाजमा ज्वलन्त उदाहरण बनेकी छिन् । उर्लाबारी –३ निवासी राईले सञ्चालन गरेको अविश बुटिक पछिल्लो समय बुटिक पारखीका बीच लोकप्रिय बन्दै गएको छ । 

फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ उनको बुटिक डिजाइन लोकप्रिय बन्दै जाँदा उनले व्यवसायको दायरासमेत बढाएर लैजान थालेकी छिन् । पाँच वर्षअघि उर्लाबारी–२ मधुमल्ला रोडमा करिब रु पाँच लाखको लागतमा सञ्चालन गरेको उनको व्यवसाय हाल रु ३० लाख बराबरको बन्न पुगेको छ । कुनै समय स्थानीय स्तरमा मात्र सीमित उनको निर्माण सामग्री पछिल्लो समय देशका विभिन्न भूभागमा मात्र नभएर विदेशमा समेत रुचाइएको पाईन्छ । 

लेङ्गा, कुर्ता सुरुवाल, साडी आदीमा आकर्षक बुट्टा भरेर डिजान गर्न माहिर उनको व्यवसायले अमेरिका, बेल्जियम, अष्ट्रेलिया, हङकङ जस्ता देशहरुमा बस्दै आएका नेपाली महिलाहरुको मन जित्न सफल भएको छ । उनी त एउटा प्रतिनिधि पात्र छिन् । पथरी शनिश्चरे–१ की मनमायाँ लिम्बु पनि बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । उनले पाँच जनालाई रोजगारीसमेत दिएकी छिन् । 

त्यसैगरी पथरी ८ की निर्मला धिमालले बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजीरहेकीछिन्। निर्मलाले तीन जनालाई रोजगारी दिएकी छिन् । त्यसो त उनले डिजाइन गरेको बुटिकका विभिन्न पहिरनहरु स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका कलाकारहरुले विभिन्न कार्यक्रमहरुमा समेत लगाइ सकेको उनको भनाई छ । तीन दर्जन भारतीय तथा नेपालीलाई रोजगारसमेत उपलव्ध गराउन सफल उनीहरुले बुटिकका सामग्री निर्माणसँगै यसैमा आफनो भविष्य खोज्ने नयाँ पुस्तालाई समेत तालीम दिँदै आएका छन । 

स्वदेशमै व्यवसाय गर्नेदेखि लिएर वैदेशिक रोजगारीमा जाने जो कोहीलाई समेत उनीहरुले सुलभ मूल्यमा तालीमको आयोजना गरेका छन् । फेसन डिजाइन आफैँमा सिर्जनासँग सम्बन्धित भएकाले यसमा नयाँपन र परिवर्तनको अपेक्षा गरिन्छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री