बिहीबार, १३ वैशाख २०८१

निर्माण व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर भने – निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति गरियोस्

समयपोष्ट २०७४ असोज २४ गते ९:५५

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई तत्काल कारबाही गर्न महासंघले सरकारसँग माग गरेको छ ।  

Advertisement

महासंघका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन्। अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै सुरक्षा प्रबन्ध मिलाउन महासंघले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको महासंघका महासचिव रामशरण देउजाले बताए। 

भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गरेका प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दे महासचिवले देउजाले जानकारी दिए। उनले भने,‘प्रधानमन्त्री ज्यूले व्यवसायीको सुरक्षाका लागि सुरक्षा प्रमुखसँग कुरा गरेको छु भन्नुभएको छ।’

यस्तै महासंघले अध्यक्ष गौचनको निधनमा तीन दिन निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ। सोमबार महासंघको कार्यालयमा बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णयसमेत गरेको छ। महासचिव देउजाले घटनाका दोषी पत्ता नलगाएसम्म आफूहरुले शव नबुझ्नेसमेत बताए। गौचनको शव अहिले परीक्षण लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। महासंघले सोमबार राति गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग भेटेर गौचनको हत्यारालाई शिघ्र कारबाहीको दायरमा ल्याउन माग गरेको थियो ।रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री