आइतबार, १४ जेठ २०८०

सरकारले खानेपानी लिन घण्टौँ हिँडेर जानुपर्ने परिवारलाई विशेष व्यवस्था गर्ने

समयपोष्ट २०७५ भदौ २६ गते १४:२३

“के तपाईँलाई बिहान उठ्ने बित्तिकै खानेपानी लिन घण्टौँ हिँडेर जानुपर्ने बाध्यताले सधैँ सताई रहन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले पानी भर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवारलाई विशेष व्यवस्था गर्ने भएको छ ।”

Advertisement

मन्त्रालयले खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण सङ्कलन अभियान शुरु गरेको छ । यकिन विवरण सङ्कलन गरेपछि उक्त समस्या समाधानका लागि नयाँ योजना बनाउने मन्त्रालयको तयारी छ ।

खानेपानीमन्त्री बीना मगरले खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पु¥याउने उद्देश्यले विवरण सङ्कलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी लिन विशेष गरी गृहिणी महिला घण्टौँसम्म हिँड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो । यसैका आधारमा हामी नयाँ योजनाहरु बनाउँ छौँ ।”

मन्त्रालयले एक हप्ताभित्र उक्त विवरण पठाउन देशभरका घर परिवार, सामाजिक सङ्घ संस्था र स्थानीय तहलाई अनुरोधसमेत गरेको छ । खानेपानी सङ्कलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्री नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्बरमा निःशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले आधारभूत खानेपानीको पहुँच पु¥याउन तय गरिएको योजनाको सफल कार्यान्वयनका लागि मङ्गलबार सातै प्रदेशका भौतिक पूर्वाधारमन्त्री र सचिवसँग छलफलसमेत गरेको छ । सो अवसरमा मन्त्री मगरले सङ्घ र प्रदेश सरकारबीच कुनै असमझदारी नहुने गरी खानेपानीका योजना अघि बढाइने बताउनुभयो । उहाँले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ खानेपानी उपलब्ध गराउन ठूलो चुनौती औँल्याउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री