बिहीबार, १३ वैशाख २०८१

बिरामीमारा कानून फिर्ता हुनुपर्छ : डा. केसी

समयपोष्ट २०७५ भदौ १७ गते ८:४४

डा.गोविन्द केसीले मुलुकी अपराध संहितालाई ‘बिरामीमारा कालो कानून’को संज्ञा दिएका छन् । यस्तो मुलुकी संहिता तुरुन्त फिर्ता लिन डा. केसीले सरकारसँग आग्रहसमेत गरेका छन् । नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म चिकित्सकहरुले मुलुकी संहिताको विरोधमा र्‍याली निकालेका थिए ।

Advertisement

मन्तव्यका क्रममा डा. केसीले मुलुकी अपराध संहितालाई बिरामीमारा कालो कानूनको संज्ञा दिँदै फिर्ता लिनुपर्ने सुझाए । उनले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मी जवाफदेही हुनुहुँदैन भन्ने होइन, तर अहिलेको कानून बिरामीमारा छ, यो फिर्ता हुनुपर्छ ।’

नयाँ व्यवस्थाले डाक्टरलाई हतोत्साहित बनाएको र त्यसले बिरामीलाई रिफर गर्न मात्रै डाक्टरलाई प्रेरित गर्ने भएकाले यसबाट गरिव जनता नै मारमा पर्ने डा.केसीको भनाइ छ ।

‘अब डाक्टरहरुले जोखिम मोल्न खोज्दैनन् । हेल्थपोष्टले जिल्ला अस्पताल हुँदै शहरका ठूला–ठूला अस्पतालमा रिफर गर्ने अवस्था सिर्जना हुन्छ । ठूला अस्पतालले पनि अलि जोखिम लिनुपर्ने अवस्था देख्नेवित्तिकै भारतको दिल्ली वा अन्य देशमा रिफर गर्न थाल्दछन’, डा. केसीले भने, ‘यो अवस्थामा पैसा हुनेले मात्रै उपचार गर्न सक्ने अवस्था हुन्छ । नेता विदेश नै गइरहेका छन् । अब पनि जान्छन् । मारमा पर्ने भनेको गरिव जनता नै हो । त्यसकारण यो कालो कानून फिर्ता हुनुपर्छ ।’

उपचार मन नपरेको अवस्थामा अहिले पनि मुद्दा गर्न सक्ने र दोषी ठहरिए कारबाही गर्ने व्यवस्था पहिले पनि भएको र अहिले पनि रहेको भन्दै डाक्टर केसीले उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको अवस्थामा ज्यानमाराको अभियोग लगाइनु उचित नभएको बताए । डाक्टरलाई तर्साएर गुणस्तिरीय सेवा उपलब्ध हुन नसक्ने बरु डाक्टरले उपचारका लागि अन्य अस्पतालमा रिफर गर्दा गर्दै बिरामीको मृत्यु हुनसक्ने भएकाले सरकारले त्यसतर्फ सोच्नुपर्ने उनले बताए । ‘रिफर टु रिफर भइरहँदा बिरामीको एम्बुलेन्समै मृत्यु भयो भने को जिम्मेवार ?,’ केसीले प्रश्न गरे, ‘उपचार गर्दै गर्दै मृत्यु भएको अवस्थामा पनि उपचारमा संलग्न डाक्टर दोषी कि अस्पताल ?

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले आइतवार राजधानी काठमाडौँसहित देशभर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री