शुक्रबार, ३१ असोज २०८२

निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई सम्बोधन

समयपोष्ट २०८२ असोज ३१ गते १६:१०

Advertisement

प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गरेको र अब लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न लागिपरेको बताइन्।

प्रधानमन्त्री कार्कीले सरकारको मुख्य प्राथमिकता निर्वाचनको तयारीमा केन्द्रित रहेको उल्लेख गरिन्। उनले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई कार्यान्वयन गर्न बाह्य मतदान प्रणालीको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिइन्। “हामी लोकतान्त्रिक अभ्यासको पारदर्शिता र विश्वसनीयता कायम राख्न प्रतिबद्ध छौं,” उनले भनिन्, “अन्तर्राष्ट्रिय पर्यवेक्षणले निर्वाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्नेछ, र हाम्रा मित्रराष्ट्रहरूको निरन्तर समर्थन रहने विश्वास छ।”

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, प्रधानमन्त्रीले छलफलका क्रममा नेपालको परराष्ट्र नीति र सम्बन्धका बारेमा पनि जानकारी गराइन्। उनले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको सत्यतथ्य पत्ता लगाउन न्यायिक जाँचबुझ आयोग गठन गरिएको र भ्रष्टाचारका मुद्दाहरूमा निष्पक्ष अनुसन्धान सुरु गरिने बताइन्।

Advertisement

यसैगरी, आन्दोलनका क्रममा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जानकारी दिँदै उनले विकास साझेदारहरूबाट सहयोगको अपेक्षा गरेको बताइन्। “हामी क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र जनजीवनलाई सामान्यीकरण गर्न कटिबद्ध छौं,” उनले थपिन्।

प्रधानमन्त्री कार्कीले मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यमा नेपालको लोकतान्त्रिक यात्रालाई सुदृढ बनाउने आफ्नो संकल्प दोहोर्‍याइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री