जेनजी आन्दोलन: सेनाद्वारा ६२ स्थानमा सुरक्षा तैनाथ, २२ प्रदर्शनकारीको मृत्यु, ६१ भीआईपीको हवाई उद्धार
नेपाली सेनाले जेनजी आन्दोलनमा मुलुकका ६२ वटा महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा फौज तैनाथ गरेको जनाएको छ।
सेनाका अनुसार ५० वटा कारागार, ३ वटा विमानस्थल, एक आयल निगम, ३ वटा अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, दूतावास क्षेत्र र कन्सुलेटसहित ६२ स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सेनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यकाभित्र ५ स्थान र उपत्यकाबाहिर ५७ स्थान गरी जम्मा ६२ स्थानमा १,६२८ सैनिक फौज तैनाथ गरिएको जानकारी दिएको छ।
सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको जनाएको छ। यसमध्ये २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले बताए।
आन्दोलन ४८४ स्थानमा फैलिएको थियो। यस क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको सेनाले जनाएको छ।
आन्दोलनका क्रममा १५,५८८ कैदीबन्दी भागेका थिए, जसमध्ये ८,७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको छ। यस्तै, ९७८ थान हतियार हराएकामा ५८६ थान फिर्ता गराइएको सेनाले उल्लेख गरेको छ।
यस्तै सेनाले आन्दोलनका क्रममा ६१ भीआईपी र नेपाल प्रहरीका २३ कर्मचारीको हवाई उद्धार गरेको छ। साथै, जमिनबाट १२९ जनालाई उद्धार गरिएको छ।
युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जेनजी आन्दोलनको तरङ्ग केही समयअघिदेखि देखिएको भए पनि यसको विकासक्रम अचानक भएको बताए। उनले भने, “जेनजी आन्दोलनको सङ्केत पहिल्यैदेखि थियो, तर यो सिलसिलेवार रूपमा नभई अचानक प्रकट भयो।”
सेनाले ‘आवश्यकताको सिद्धान्त’ अनुसार परिस्थितिको विश्लेषण गरी आवश्यक कदम चालेको उनको भनाइ छ। “हामीले अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै जनधनको सुरक्षा र राष्ट्रको रक्षालाई प्राथमिकता दिएका छौँ,” थापाले थपे।
आन्दोलनलाई समयमै नियन्त्रण गर्न नसकेको भन्ने प्रश्नमा उनले भने, “हाम्रो उद्देश्य जनधनको सुरक्षा र राष्ट्रको रक्षा हो। यो प्रश्न आफैँमा विरोधाभासपूर्ण छ।”
प्रतिक्रिया