नेपालमा अंग प्रत्यारोपणको जग बसाउने शिल्पी, जसको प्रत्यारोपण केन्द्रबाट यसरी गरियो विदाई
उनको योगदानले हजारौं बिरामीले नयाँ जीवन पाएका छन्

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ मंगलबार (असोज ७, २०८२) देखि उमेर हदका कारण सरकारी सेवाबाट निवृत्त भएका छन्। विसं २०६९ मा स्थापना भएको यो केन्द्रको नेतृत्व डा. श्रेष्ठले शुरुदेखि नै सम्हाल्दै आएका थिए। उनको १३ वर्षे कार्यकालमा केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपणको क्षेत्रमा नेपाललाई विश्व मानचित्रमा स्थापित गर्न सफल भएको छ। असोज ७ गते भक्तपुरमा आयोजित एक भव्य समारोहबीच डा. श्रेष्ठलाई सम्मानसहित विदाई गरियो।
विदाई समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, केन्द्रका सञ्चालक समिति सदस्य एवं संस्कृतिविद् तिलक कायस्थ, समाजसेवी सोम थापा, केन्द्रका कर्मचारीहरू, प्रत्यारोपीहरूका प्रतिनिधि झंक श्रेष्ठ, र वरिष्ठ नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठलगायतले डा. पुकारको योगदानको उच्च कदर गरे। उनीहरूले डा. श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे भने उनकी पत्नी नविना श्रेष्ठलाई पनि कदरपत्र प्रदान गरियो।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले डा. पुकारको सक्षम नेतृत्व र केन्द्रका कर्मचारीहरूको अथक प्रयासले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई नेपालको अंग प्रत्यारोपणको क्षेत्रमा शिखरमा पुर्याएको बताए। “डा. पुकारको नेतृत्वमा यो केन्द्रले देशमै सबैभन्दा धेरै मिर्गौला र कलेजो प्रत्यारोपण गरेर कीर्तिमान कायम गरेको छ। यो उपलब्धि हाम्रा लागि गर्वको विषय हो,” उनले भने।
डा. पुकारको नेतृत्वमा केन्द्रले १३ वर्षको अवधिमा १,६०० भन्दा बढी मिर्गौला प्रत्यारोपण (९९% सफलता दर) र ३३ वटा कलेजो प्रत्यारोपण (९३% सफलता दर) सम्पन्न गरेको छ। यी उपलब्धिहरू नेपालको स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा हुन्। विशेषगरी, मस्तिष्क मृत्यु भएका व्यक्तिहरूबाट अंगदानमार्फत १३ जनामा मिर्गौला, ४ जनामा कलेजो, र एक जनामा मिर्गौला र कलेजो दुवैको सफल प्रत्यारोपण गरिएको छ।

केन्द्रले हालै नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरेर विश्वस्तरको कीर्तिमान कायम गरेको छ। यो जटिल शल्यक्रिया नेपालमा सम्भव भएकोमा डा. श्रेष्ठले गर्व व्यक्त गर्दै भने- “ यसले नेपालमा जटिल प्रत्यारोपण सम्भव छ भन्ने सन्देश विश्वभर पुर्याएको छ।”

डा. पुकार नेपालमा कलेजो प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण सुरु गर्ने पहिलो सर्जन हुन्। उनले मस्तिष्क मृत्यु भएका दाताबाट एकै व्यक्तिमा मिर्गौला र कलेजो दुवै प्रत्यारोपण गरेर इतिहास रचेका छन्। उनको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले छोटो समयमै आधुनिक अंग प्रत्यारोपण सेवाको बलियो आधार तयार गरेको छ।
विदाई समारोहमा प्रत्यारोपी झंक श्रेष्ठले डा. पुकारको योगदानलाई सधैं स्मरण गरिने बताए। “डा. पुकारले नेपालको अंग प्रत्यारोपण क्षेत्रमा पुर्याएको योगदान अमूल्य छ। उनको अवकाश प्राप्त जीवन सुखमय र स्वस्थ रहोस्,” उनले भने।

विदाई समारोहलाई सम्बोधन गर्दै डा. पुकारले केन्द्रको स्थापनाकालदेखि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिए। “यो सफलता म एक्लैको होइन। केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, र सहयोगी सबैको सामूहिक प्रयासको परिणाम हो,” उनले भने। उनले भविष्यमा पनि केन्द्रलाई आफ्नो सल्लाह र सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
केन्द्रका प्रशासकीय अधिकृत हरिहर पोखरेलले डा. पुकारको अवकाशपछि पनि उनको मार्गदर्शन र सहयोगले केन्द्रलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विदाई समारोहमा केन्द्रको यात्रा र उपलब्धिहरूलाई समेटिएको अन्तर कथा नामक पुस्तकको विमोचन पनि गरियो। यो पुस्तकले केन्द्रको स्थापनादेखि हालसम्मको गौरवपूर्ण इतिहासलाई दस्तावेजीकरण गरेको छ।

डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। उनले स्थापना गरेको बलियो आधारले नेपालको स्वास्थ्य क्षेत्रलाई भविष्यमा पनि मार्गदर्शन गर्नेछ। उनको योगदानले हजारौं बिरामीले नयाँ जीवन पाएका छन्, र यो विरासत आगामी पुस्ताहरूका लागि प्रेरणाको स्रोत बन्नेछ।




























प्रतिक्रिया