प्रतिकिलो स्याउको ढुवानी भाडा रु ४०

बाजुरा जिल्लामा फलेको स्याउ धनगढी बजारसम्म पु¥याउन पवन कट्टेलले प्रतिकिलो ढुवानी भाडा रु ४० खर्च व्यहोर्नु प¥र्यो ।

Advertisement

चाडपर्वका समयमा स्याउको कारोबार गरेर आम्दानी गर्ने सोचसहित धनगढीमा बजारीकरण गरिरहेको भेटिनुभएका कट्टेलले ढुवानी भाडा चर्को भएपछि स्याउको व्यापारमा घाटा लागेको गुनासो गर्नुभयो ।

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गर्नुभएका उहाँले भन्नुभयो, “सडकको सुविधा नहुँदा बजारसम्म पु¥याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनुपर्ने किसानको बाध्यता छ ।”

उहाँले बारीमा बोटबाट स्याउ टिप्नेलाई ज्यालाबापत प्रतिकिलोको रु १० व्यहोर्नुभएको थियो । प्रतिकिलो ढुवानी खर्च बाजुराको जुकोटलेसीबाट त्रिचोर गाउँसम्म रु १८ र त्रिचोरबाट कालीकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीसम्म रु १२ खर्च उहाँले व्यहोर्नुभयो ।

बर्खायाममा गएको पहिराले ठाउँठाउँमा बाटो भत्किएपछि उत्पादित स्याउ आफ्नै प्रदेशको सडकमार्फत बजारसम्म पु¥याउन नसकिएको किसानको भनाइ छ । धनगढी बजारमा कट्टेलले प्रतिकिलो रु ७० देखि ८० मा स्याउ बिक्री गर्न सक्नुभयो ।

Advertisement

बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उत्पादन भएको स्याउ सडकको असुविधाले आफ्नै प्रदेशमा पर्ने धनगढीसम्म बजारीकरण गर्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला भएर ढुवानी गर्नुपर्ने बाध्यता छ ।

बाजुराको हिमाली भेकका पाण्डुसैन, बूढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्गानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरण गर्न भइरहेको समस्यासँगै किसान र व्यापारीले यसको उचित मूल्य पाउन सकिरहेका छैनन् । उत्पादन स्थलसम्म कृषि सडकको अभाव देखिनु, भएका सडक पनि बर्खायामा भत्किएर बन्द हुनु, भण्डारणका लागि उचित व्यवस्था नहुनु जस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पु¥याउन समस्या हुने गरेको किसानको भनाइ छ ।

स्वामीकात्तिक गाउँपालिका–३ का किसान पदमबहादुर शाहीले सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको बताउनुभयो । झण्डै २० बिघा क्षेत्रफलको जग्गामा स्याउ खेती गर्नुभएका उहाँले भन्नुभयो, “किसानले स्याउको उचित मूल्य पनि पाइरहेका छैनन्, उत्पादन भएको स्याउ बारीमा त्यसै खेर जानुभन्दा निकै कम मूल्यमा बिक्री गर्नुपरेको छ ।”

बाजुराको अर्गानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढी लगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयात हुने ठूलो परिमाणको स्याउको कारोबार हुने गरेको छ ।

किसान शाही आफ्नै देशको माटो र हावापानीमा उत्पादन भएको अर्गानिक स्याउको बजार माग बढाउन नसकिएको बताउनुहुन्छ । अर्गानिक स्याउखेती गरिँदा कुनै प्रकारको विषादी प्रयोग गरिँदैन । बाजुरा पुगेर फर्किनेको कोसेली त्यहाँ उत्पादन हुने अर्गानिक स्याउ नै हुने गरेको छ ।

कृषि प्राविधिकले हिमाली जिल्लामा उत्पादन हुने स्याउलगायतका कृषिउपजको बजारीकरणमा ठूलो समस्या रहेको बताउनुभयो । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कृषि सडकको व्यवस्थाका साथै उत्पादित स्याउको भण्डारण, न्यूनतम समर्थन मूल्य तोकिदिने जस्ता सेवा सुविधा उपलब्ध गराउन सकिएमा उत्पादित स्याउलगायतका कृषिउपज बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

कुनै पनि विषादी र हर्मन प्रयोग नगरी उत्पादन हुने अग्र्यानिक स्याउ उपभोक्ताको रोजाइ हुनुपर्नेमा उपभोक्तामा चेतनाको अभावका कारण भारतबाट आयातित हरमन वा अन्य विषादीको प्रयोग गरिएको स्याउको माग फलफूल बजारमा बढी देखिने गरेको बताइन्छ । कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानबापत प्रतिकिलो रु २७ उपलब्ध गराएको कृषकले बताएका छन् । ज्ञान केन्द्रले यसअघि पनि उत्पादित अर्गानिक स्याउको ढुवानीमा अनुदान दिएको थियो ।

अर्गानिक स्याउको स्वाद लिनुभएका स्थानीय राजेन्द्र भट्टले भन्नुभयो, “स्याउ रसिलो र स्वादिलो छ, आफ्नै देशको हावापानीमा उत्पादन भएको स्याउ नेपालका बजारमा पु¥याउन किसानले झेलेको समस्या देखिनु विडम्बना हो ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री