यी १७ वटा संस्थालाई १० दिनभित्र कर बुझाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाएका १७ वटा संस्थालाई कर बुझाउन पत्र लेखेको छ ।

Advertisement

महानगरले मंगलबार पत्र लेख्दै सरकारी, गैरसरकारी, निजी तथा व्यवसायीक संस्थाहरूलाई १० दिनभित्र कर बुझाउन निर्देशन दिएको हो ।

महानगरको कर नतिर्ने संस्थाहरूको सूचीमा खाद्य संस्थान, हाइट फिल स्कूल, साझा भण्डार, राष्ट्रिय नाचघर छन् । यस्तै, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेश्नल ट्रेडिङ लिमिटेडलाई समेत महानगरले पत्र काटेको छ ।

यसैगरी, १० दिनभित्र कर तिर्न निर्देशन पाउनेमा नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, आबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल, डेण्टल कलेज समेत छन् । वर्षौदेखि महानगरलाई कर नबुझाएका यी संस्थालाई पत्र काट्दै महानगरले लेखेको छ, ‘सम्पत्ति कर बुझाउन महानगरबाट पटक–पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझाएको हुँदा यस पत्र प्राप्त गरेको १० दिन भित्र सम्बन्धित वडालाई कर बुझाउन अनुरोध छ ।’

यदी तोकिएको समयमा वडालाई ती संस्थाले कर नबुझाएमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँक कर रकम सरकारी सरह असूलउपर गरिने चेतावनी समेत महानगरले दिएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिका वर्षौदेखि उठ्न बाँकी राजश्व संकलनतर्फ केन्द्रित भएको छ । यसअघि, भृकुटीमण्डपमा सञ्चालित फन पार्कलाई समेत २४ घन्टामा कर तिर्न अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम पाएपछि वर्षौदेखि लाखौं कर नतिरेको फन पार्कले जरिवानासहितको १७ लाखभन्दा बढी कर तिरेको थियो ।

Advertisement

यसैगरी, महानगरले उपत्यकामा सञ्चालित क्यासिनोहरूलाई समेत मनोरञ्जनबापतको कर बुझाउन अल्टिमेटम दिएको छ । यी संस्थाहरूले तोकिएको समयमा कर नबुझाएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री