शुक्रबार, १४ वैशाख २०८१

अनन्त चतुर्दशी  र इन्द्रजात्रा पर्व मनाइँदै 

समयपोष्ट २०७३ भदौ ३० गते ६:०३


काठमाडौँ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने  इन्द्रजात्रा पर्व आज मनाइँदैछ ।  वर्षा र सहकालका देवताका रुपमा देवराज इन्द्रको पूजा–आराधना गर्दै यो पर्व आठ दिनसम्म मनाइन्छ ।

Advertisement

शत्रु पराजय भएपश्च्यात  विजय उत्सवका  रुपमा मनाउने गरिएको  यस पर्व उपत्यका र आसपासका जिल्ला  धुलिखेल, दोलखा लगायतका स्थानमा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआराधना गरी मनाइन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो  ठड्याइएपछि यो जात्रा प्रारम्भ हुने  गर्दछ । 
यसरी ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गर्ने चलन छ ।

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरी  प्रदर्शन गर्ने पर्वका रुपमा  इन्द्रजात्रालाई लिइन्छ ।यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छाडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ ।

साइत हेरि उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
त्यस्तै आजको दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । अनन्तनाथ भगवान् विष्णु  को पूजा आराधना गरी चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने जनविश्वास रहिआएको  छ । 

यसैदिन राष्ट्रपतिबाट हनुमानढोका स्थित गद्दी बैठकबाट  जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री