बुधबार, २६ वैशाख २०८१

गोरखापत्र पत्रकार महासंघको साधारणसभा सम्पन्न

समयपोष्ट २०८१ वैशाख १४ गते १९:५१

Advertisement

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाको ११ औँ साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै महासंघको लेखा समिति संयोजक लेखनाथ न्यौपानेले गोरखापत्र पत्रकारिताको धरोहर भएकोले सबैले गोरखापत्रबाट पत्रकारिता सिक्नुपर्ने बताउनुभयो । उहाँले गोरखापत्र सस्थानले सामाजिक सुरक्षा लागू गर्नुपर्ने बताउनुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानमा लेखन व्यवस्थापनमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले श्रमजिवी पत्रकारहरुको पक्षमा काम गर्न कानुनी जटिलता रहेको भन्दै ती जटिलतालाई फुकाउँदै जानुपर्ने बताउनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय गोरखापत्रले खोजमुलक समाचारहरु पस्कन थालेको बताउनुभयो । उहाँले गोरखापत्र वास्तवमा नै जनताको अखबार भएको भन्दै नागरिक तहबाट पनि सुधार भएको आवाज सुनिन थालेको बताउनुभयो ।

Advertisement

गोरखापत्र दैनिकका सम्पादक शिवकुमार भट्टराइले पत्रकार महासंघबाट पत्रकारहरुको हकहितको काम हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले गोरखापत्रमा श्रमजिवीहरुको समस्या रहेको भन्दै समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मणि दाहालले गोरखापत्र राज्यको नभई जनताको हुन थालेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष सरोज ढुंगेलले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धीबारे बताउनुभएको थियो ।

निःशुल्क आँखा शिविर

नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविर कार्यक्रममा १६५ जनाको आँखाको परीक्षण गरिएको छ । गोरखापत्र प्रतिष्ठान शाखाले शुक्रबार गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीहरूको आँखा शिविर सञ्चालन गरेको हो ।

नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा त्रिभुवन विश्वविद्यालय, नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालका चिकित्सक तथा प्राविधिले आँखा परीक्षण गर्नुभएको थियो । आँखा परीक्षणमा सहभागी दृष्टि विशेषज्ञ करिसा महर्जनले आँखा परीक्षण गराएका व्यक्तिमध्ये ९० प्रतिशतमा दृष्टिदोष रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नजिकको अक्षर नदेख्ने ३१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । यसैगरी ९६ जनालाई आँखाको लागि औषधी वितरण गरिएको छ । महर्जनका अनुसार केही व्यक्तिलाई मोतिविन्दु भइसकेको छ भने केहीलाई आँखामा आँशु सुक्ने समस्या देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री