बिहीबार, ६ वैशाख २०८१

‘संशोधन नगरी संविधान कार्यान्वयन हुन सक्दैन ’

समयपोष्ट २०७३ भदौ २१ गते ११:०८

शान्ति तथा पूर्ननिर्माणमन्त्री सितादेवी यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएकीछिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले अयोजना गरेको साक्षात्कारमा बोल्दी मन्त्री यादवले भनिन्,‘संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुने सम्भावना म देख्दिन्, कार्यान्वयन गर्ने हो भने तत्काल संशोधन गर्नुपर्छ ।’ 
उनले मधेशी मोर्चाले संविधानका ८३ वटा बुँदामा संशोधन गर्नुपर्ने भनेपनि तत्काल तीन चारवटा बुँदामा संशोधन गरेर भएपनि अघि बढ्नुपर्ने बताउँदै थपिन्,‘संविधान संशोधन विना मुलुकमा शान्ति आउन सक्दैन् ।’ उनका अनुसार उक्त बुँदाहरुमा प्रदेशको सिमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक–समावेशी र नागरिकताको विवाद टुँगो लगाउने रहेका छन् ।
नेपाली काँग्रेसकी कोषाध्यक्ष समेत रहेकी मन्त्री यादवले संविधान संशोधनेको लागि दुईतिहाई आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्षी दल एमालेले पनि सहयोग गर्नुपर्ने बताईन् । 
उनले अघि थपिन्,‘दलहरु मिल्नुको विकल्प छैन, एक–अर्काको आलोचना गरेर कसैको हित हुँदैन, सबै मिलेर सुन्दर, शान्त र समृद्धि मुलुक बनाउनुपर्छ ।’ यादवले संविधान संशोधनमा एमालेलाई मनाउनको लागि आफ्नो पार्टी र नेतृत्व लागिपरिरहेकोले संशोधन प्रक्रिया अघि बढ्नमा केही ढिलाई भएको स्पष्ट पारिन् । 
दलहरुवीच सहमति नभए चुनाव हुन नसक्ने बताउँदै मन्त्री यादवले भनिन्,‘छिट्टै संविधान संशोधन गरेर स्थानीय निकाय लगायत तीन वटै निकायको चुनाव गराउनुपर्छ, अनि संविधान कार्यान्वयनमा लाग्नुपर्छ ।’ उनले मधेशमा दुई प्रदेश हुनुपर्नेमा आफूले पहिलादेखि नै अडान लिँदै आएको बताउँदै भनिन्,‘झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश हुनैपर्छ ।’
नेकपा एमालेका नेता लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गर्ने स्पष्ट पारेका छन् । पण्डितले अघि भने,‘संविधान ढुँगाको शिलालेखजस्तो होईन, तर संवैधानिक व्यवस्था अनुसार नै संशोधन हुन्छ, गैरसंवैधानिक बाटोबाट संविधान संशोधन हुन सक्दैन ।’ 
उनले विगतमा संविधानसभाको चुनाव हुन दिन्नौं भन्नेहरुपनि प्रशस्तै रहेको तर अहिले आएर तीनीहरु हराएको उल्लेख गर्दै भने,‘अहिले आएर संविधान समाप्त गर्छु भन्नेहरुपनि ठाउँठाउँमा छन्, यो संविधानले देशलाई विभाजित गर्ने होईन, एकिकृत गर्ने हो ।’ 
कतिपय मित्रहरुले मधेशलाई अलग राष्ट्र बनाई छोड्ने कुरा गरेको उल्लेख गर्दै पण्डितले भने,‘अलग राष्ट्र बनाउँछु भन्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दै छन् ।’ संविधान जारी गर्ने नेताहरुले खुट्टा कमाउने र नाँगै हिड्न थाले भोलि के हुन्छ भन्दै उनले प्रश्न गरे ।
पण्डितले छिमेकीले जे भन्यो त्यही नै जस्तातस्तै संशोधन गर्न नसिकने बताउँदै भने,‘उसले जे भन्यो र जस्तातस्तै गर्ने हो, आज छिमेकीले भन्दैछ कि मधेश शान्त चाहियो भनेर, अनि छिमेकीले भन्नेछ कि अलग मधेश, स्वतन्त्र मधेश, लटपटाउनेछ, भोलि भन्नेछ कि स्वतन्त्र मधेश नै मेरो मान्यता हो भन्यो र संविधान संशोधन गर्ने कुरा गरियो भने भोलि नेपालको सार्वभौमिकता के हुन्छ ?, स्वतन्त्रतातर्फ सोचौं, नेपाली भएर सोचौं ।’
उनले संविधान संशोधन गर्नै नुहने भन्ने पक्षमा एमाले नभएर तर अहिले वेला नभएको भन्ने आफूहरुको भनाई रहेको दाबी गरे ।  
माओवादी केन्द्रका नेता मणि थापाले आफ्नो पार्टी नेतृत्वको सरकार संविधान संशोधन गर्दै संविधान कार्यान्वयन गर्ने कुरामा जुटेको बताउँदै भने,‘तीन वटै निकायको चुनाव गर्नुपर्ने अहिलेको राष्ट्रिय आवश्यकत्ता हो, सबै दल त्यसमा तयार हुनुपर्छ, काँग्रेस, माओवादी र मधेशवादी दल तयार छन्, अब एमालेपनि तयार हुनुपर्छ, एमाले बाधक बन्नुहुँदैन् ।’ 
उनले एमालेले संविधान संशोधनमा सहयोग गरेन भने ईतिहासको आवश्यकत्ता राम्रोसँग नबुझेको अर्थ लाग्ने संविधान संशोधनमा एमालेले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । 
थापाले संविधानमा असन्तुष्टि राख्ने आन्दोलनरत पक्षहरुसँग छलफल गरेर प्रदेश सिमांकन, नागरिकता, राष्ट्रियता लगायतका विषयमा प्याकेजमै छलफल गर्नुपर्ने कुरामा आफ्नो पार्टी नेतृत्वको सरकार तयार रहेको स्पष्ट पारे । 
उनले अघि थपे,‘सिमांकनको विषयमा हाम्रो पार्टी उदार छ, अब चाँडै संशोधन प्रक्रिया अघि बढ्छ ।’ उनले मधेशी लगायत आदिवासी, जनजाति र थारुहरुले गरेको आन्दोलनप्रति सरकार गम्भिर रहेको बताए । 
मधेशी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधानका ८३ वटा बुँदामा आफूहरुको असन्तुष्टि रहेको भन्दै तत्काल संशोधन गर्नुपर्ने माग गरे । 
यादवले आफूहरुले अघि सारेका मागहरुमा प्रदेशको सिमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, न्यायलय, भाषा, नागरिकता, राज्यश्रोतको बाँडफाँडका मागहरु मुख्य मागहरु रहेको भन्दै ती बुँदाहरुमा संशोधन नगरिए मोर्चाले सहयोग नगर्ने स्पष्ट पारे । 
उनले एमालेपनि संविधान संशोधनको पक्षधर पार्टी भएको बताउँदै भने,‘ठूलो पार्टी हुने सपना देख्ने एमालेले संशोधनमा सहयोग गर्छ, संशोधन प्रक्रियामा आउँछ, अहिले काँग्रेसको ढिलासुस्तीका कारणले संशोधन प्रक्रिया अघि बढ्न सकेको छैन, मुल विषयमा काँग्रेस प्रवेश गरिरहेकै छैन् ।’ यादवले अघि थपे,‘काँग्रेस कहिले नेविसंघको महाधिवेशनमा त, कहिले सभापति बाहिर जाँदा मुल विषयमा प्रवेश गर्न पाईएको छैन् ।’
उनले काँग्रेस, माओवादी र मधेशवादी दलले संविधान संशोधन प्रक्रिया अघि बढाए एमालेले पनि नैतिक रुपमा सहयोग गर्ने विश्वास व्यक्त गरे । यादवले मधेशी, आदिवासी, जनजाति लगायतको भावना र अन्तरिम संविधानको मर्म र भावना अनुसार देशको निकासको लागि पनि संशोधन आवश्यक रहेको बताए । 
उनले पहिले केन्द्रको चुनाव गरेरमात्रै प्रदेश र स्थानीय निकायको चुनाव गर्नुपर्ने बताए । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री