बिहीबार, १५ चैत २०८०

उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न, प्रधानमन्त्रीले दिए धन्यवाद

समयपोष्ट २०७४ असोज २ गते १२:५८

प्रदेश २ को स्थानीय तह निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ । निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।  निर्वाचनको समयसीमा साँझ ५ बजेसँगै सकिएको थियो। निर्वाचन आयोगले बिहान सात बजेदेखि बेलुका ५ बजेसम्मको समयसीमा सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले भने अवेरसम्म पनि मतदान गर्न पाएका थिए ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको अन्तिम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् ।  प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रूपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेका हुन । 

Advertisement

नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम जनताले दैनिक रूपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गत वैशाख ३१ र असार १४ गते सम्पन्न भइसकेको छ । 

प्रधानमन्त्री देउवाले तेस्रो चरणको निर्वाचन आज असोज २ गते प्रदेश नं २ अन्तर्गत आठ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक रूपमा सम्पन्न भएको उल्लेख गरेका छन् । 

“पहिलो पटक नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमबाट नै हो”, विज्ञप्तिमा उल्लेख छ । 

आगामी मंसिरमा हुने प्रादेशिक र संघीय तहको निर्वाचन तोकिएको समयमै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन सम्पन्न भइसकेपछि देश राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री