शुक्रबार, १६ चैत २०८०

अन्तरघात गरेको आरोप लगाई कांग्रेसका नुवाकोट सभापति माथि कारबाहीको माग

समयपोष्ट २०७४ भदौ २८ गते ६:१९

बेलकोटगढी नगरपालिकाका नेपाली कांग्रेसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । 
बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा सूची बुझाएका हुन् । केसीसहित जिल्ला सदस्य हिरा पाण्डे लामा, क्षेत्रीय सदस्य कृष्णप्रसाद पाण्डे, साबिक बेलकोट गाविसका पार्टी सभापति वैकुण्ठ पाण्डे र साबिक जिलिङ गाविसका पार्टी सभापति गोकुलप्रसाद दाहालले अन्तरघात गरेको आरोप लगाइएको छ । 
यस्तै पूर्व जिल्ला सभापति तथा विदुर नगरपालिकाका प्रमुखका पराजित उम्मेदवार ध्रुव अधिकारीको नेतृत्वमा गएको अर्को टोलीले पनि केन्द्रीय कार्यालयमा अन्तरघात गर्नेको सूची बुझाई कारवाहीका लागि माग गरेको छ । 
उक्त सूचीमा जिल्ला सदस्य विन्दा अर्याल, नेता वासु सापकोटा, तारकेश्वर गाउँपालिकाका पार्टी संयोजक होमबहादुर तामाङ, पूर्वमहासमिति सदस्य मोहनबहादुर खड्कालगायत १९ नेता तथा कार्यकर्ताका नाम छ । 
जिल्ला तहकाले कारवाहीका लागि कुनै सिफारिस र सोधपुछसमेत नगरेपछि केन्द्रमा पुग्नुपरेको तारकेश्वरबाट कांग्रेसका पराजित उम्मेदवार चोकराज शाक्यले बताए । 
पूर्वसभापति अधिकारीले निर्वाचनमा अन्तरघात गर्नेहरु कारवाहीको दायरामा आउँछन् भन्ने अनूभूति नभए कार्यकर्तामा निराशा बढ्ने बताए ।  कारवाही गराउन माग गर्दै निर्वाचनका पराजित उम्मेदवारसहित ७७ जनाले हस्ताक्षर गरेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री