दल दर्ता प्रक्रिया सुस्त, २१ दिनमा जम्मा दुई दल अद्यावधिक

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दल दर्ता आह्वान गरेको २१ दिन बितिसक्दा जम्मा दुई दल मात्र अद्यावधिक भएका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जननिर्वाचित संसद् भदौ २७ गते विघटन गरी निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ता प्रक्रिया सुरु गरेको हो।
निर्वाचन आयोगको वेबसाइटमा अद्यावधिक भएको दल दर्ताको सूचीअनुसार असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी र असोज २८ गते जनस्वराज पार्टी दर्ता भएका छन्। राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षमा केशवबहादुर थापा र जनस्वराज पार्टीको अध्यक्षमा दीपक कुमार साह रहेका छन्।
आयोगले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ताका लागि समय दिएको छ। कानुनी व्यवस्थाअनुसार आयोगमा दर्ता कायम रहेका दलले मात्र निर्वाचन प्रयोजनका लागि दर्ता गर्न पाउने छन्। त्यसैले, निर्वाचनमा सहभागी हुन चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ।
हालसम्म आयोगमा १२४ राजनीतिक दल दर्ता अद्यावधिक भएका छन्। निर्वाचन घोषणापछि ६ वटा दलले दर्ताका लागि निवेदन दिएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निवेदन दिनेमा हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टी रहेका छन्।
निवेदन दिएका ६ मध्ये श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा रहेका छन्। तर, नेपाल लिभरल पार्टीले अनुसूची–३ लगायतका विवरण पेस नगरेको र राष्ट्रिय जेनजी पार्टीको विधानलगायत फाइलमा टिपोट गरिएको प्रवक्ता भट्टराईले बताए।




























प्रतिक्रिया