शुक्रबार, १६ चैत २०८०

धवलागिरिमा ‘फोर जी’को तयारी

rss २०७६ भदौ २३ गते १७:५३

Advertisement

धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारीमा हुँदैछ । दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकम बागलुङ कार्यालयका अनुसार पहिलो चरणमा १४ ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिनेछ । बागलुङमा टेलिकम कार्यालय, लालीगुराँसचोक, कुँडुले, गलकोट नगरपालिकाको ठाना, म्याग्दीको टेलिकम कार्यालय, क्याम्पसचोक, पूलाचौर, रुममा फोर जी सञ्चालन हुने जनाइएको छ ।

यस्तै पर्वतको टेलिकम कार्यालय, शिवालय, पातिचौर, दुर्लुङ, मुस्ताङको जोमसोम बजार र मुक्तिनाथमा फोर जी सेवा शुरु हुनेछ । “एक वर्षभित्र धवलागिरिका ११२ ठाउँबाट फोर जी चल्छ” कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले भन्नुभयो, “आवश्यकता अनुसार थप ठाउँमा विस्तार गरिनेछ ।”

आउँदो वर्षभित्र देशभर फोर जी सेवा पु¥याउने सरकारी लक्ष्य अनुसार धवलागिरिमा पनि काम तीव्र पारिएको उहाँको भनाइ छ । “पहिलो चरणमा फोर जी शुरु हुने १४ वटै बिटियस् टावरमा एन्टिना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको छ” इञ्जिनीयर शर्माले भन्नुभयो ।

क्रमशः अन्य ठाउँका टावरमा पनि फोर जी सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना छ । फोर जी सेवा शुरु भएपछि टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोर जीलाई मोबाइल ब्रोडब्याण्ड (उच्च गतिको इन्टरनेटसहितको मोबाइल) सेवा मानिन्छ ।

“फोर जी थ्रिजीभन्दा उच्च क्षमतायुक्त र तीव्र गतिको इन्टरनेट प्रविधि हो”, इञ्जिनीयर शर्माले भन्नुभयो, “इन्टरनेटको गति प्रतिसेकेन्ड एक सय मेगाबिट्स (एमबिपिएस) भन्दा माथि हुन्छ ।” ग्राहकले गुणस्तरयुक्त फोर जी सेवाका लागि खर्च भने केही बढी गर्नुपर्नेछ ।

उच्च गतिको इन्टरनेट हुने भएकाले फोरजी प्रयोगकर्ताले अहिलेभन्दा सजिलो गरी भिडियो कल र च्याट गर्न सक्नेछन् । फोर जी प्रविधिले मोबाइलमै थ्रिडी भिडियोसमेत हेर्ने सुविधा दिने बताइन्छ । फोर जी सेवाले ‘डिजिटल नेपाल’को लक्ष्यलाई पनि सघाउने इञ्जिनीयर शर्माको भनाइ छ । “भौगोलिक जटिलताका कारण सबै ठाउँमा फाइबर पु¥याउन कठिन छ” उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा ब्रोडब्याण्ड (ताररहित) इन्टरनेट चलाउन फोर जी उपयोगी छ ।”

फोर जी राउटरबाट कम्युटरलगायतका अन्य उपकरणमा पनि इन्टरनेट सञ्चालन गर्न सकिनेछ । ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोर जी चल्ने हुँदा इन्टरनेटको पहुँच पनि बढी ठाउँमा पुग्ने जनाइएको छ । टेलिकम कार्यालयका अनुसार हाल धवलागिरिका ११० ठाउँबाट ‘थ्री जी’ सेवा सञ्चालन भइरहेको छ ।

‘थ्री जी’ प्रविधिमार्फ्त ‘भियोडी’, ‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवाहरु ग्राहकले पाइरहेका छन् । सात दशमलव २ ‘एमबिपिएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकम कार्यालयले जनाएको छ । पछिल्लो समय नेपाल–चीनको नाका मुस्ताङको कोरलामा पनि थ्री जी सेवा सञ्चालित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री