मंगलबार, ११ वैशाख २०८१

जगदम्बा सिमेन्ट चीन र भारतमा विक्रि वितरण गर्ने योजनामा छौं 

समयपोष्ट २०७३ भदौ १६ गते ४:३०

अहिले नेपाली बजारमा बिक्री वितरण भइरहेका सिमेन्टमध्ये जगदम्बा सिमेन्ट अब्बल स्थानमा छ । अहिले हाम्रो वीरगन्ज र भैरहवामा दुई उद्योग छन् । यी दुवैबाट ५२ हजार बोरा प्रतिदिन उत्पादन हुन्छ । जसमा हामीले ओपिसी, पिपिसी, पिएसी तीनप्रकारका सिमेन्ट उत्पादन गर्छाैं । नेपालको सिमेन्ट बजारमा जगदम्बाले १८ प्रतिशत बजार हिस्सा ओगटेको छ । यो अहिलेसम्म नेपालमा भएका सिमेन्टमा सबैभन्दा माथिल्लो स्थान हो । 
गुणस्तरका हिसाबले पनि जगदम्बा अहिलेसम्म सबैभन्दा बढी विश्वासिलो छ । यो सिमेन्टको गुणस्तरमा एकरूपता छ । त्यही गुणस्तरकै कारणले गर्दा आमउपभोक्ता तथा ग्राहकवर्गको जगदम्बा सिमेन्टमा विश्वास छ । अर्कोतिर जगदम्बाको नेटवर्क पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र तराईदेखि हिमालसम्म छ । हरेक ठाउँमा सहज तरिकाले उपलब्ध भएकाले पनि जगदम्बा सिमेन्टको माग बढ्दै गइरहेको छ । हिजो हामीले दैनिक १२ सय बोराबाट सुरु गरेको यो सिमेन्ट आज ५२ हजार बोरा प्रति दिन उत्पादन हुन्छ । हामीले हाम्रो उत्पादनलाई उत्पादनमा मात्र सीमित गरेका छैनौं । उत्पादनदेखि उपभोगसम्मका हरेक चरणमा उपभोक्तामुखी बनाउन कोसिस गरिरहेका छौं । कच्चा पदार्थ हुँदै उत्पादन, वितरण र बिक्रीपछिको अवस्थासम्म पनि गुणस्तरलाई केन्द्रित गरेर उपभोक्तालाई सहज र व्यवस्थित कसरी गराउने भन्ने कुरमा विशेष जोड दिँदै आएका छौं । यही कारणले नै जगदम्बा सिमेन्टले आज उपभोक्ताको यति धेरै विश्वास जित्न सफल भएको हो । 

Advertisement

स्किम प्रभावकारिता
हामीले उपभोक्तालाई सचेत गराउने उद्देश्यले विभिन्न स्किम पनि ल्याइरहेका छौं । भूकम्पपछि हामीले मजबुती र बीमा सुरक्षा दुई गुणा भन्ने स्लोगानसहित होम इन्स्योरेन्स स्किम ल्याएका थियौं । हाम्रो देश भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण छ । त्यो स्किम हामीले बनाएका संरचना बलियोसँग बनाउनुपर्छ र त्यसको इन्स्योरेन्स पनि गरियो भने भोलि ठुल्ठूला भूकम्प जाँदा पनि हाम्रो सम्पत्तिको रक्षा हुन सक्छ भनेर सचेतना जगाउनेखालको थियो । यसमा हामी धेरै सफल भयौं । हामीले गरेपछि अरू सिमेन्टले पनि यस्तैखालका स्किम लन्च गरे । यसबाट धेरै लाभान्वित हुनुभयो । यो स्किम असारमा सकियो । यस अभियानमा समावेश उपभोक्ताले यो दाबी गर्नेक्रम जारी छ । यसमा उपभोक्ताले ढेड करोडसम्मको बिमा पाइसक्नुभएको छ । निर्माणक्रममा भएकालाई उहाँहरूले किनिसकेको सिमेन्टको बिमा क्लेम आउन बाँकी छ । हामीले यसको अवधि आउने २०७४ असार मसान्तसम्म राखेका छौं । यसमा पूर्वको मेचि देखि पश्चिमको महाकाली सम्मका उपभोक्ताले यो स्किमलाई निरन्तरता गरिदिनुस् भन्ने प्रतिक्रिया आइरहेको छ । यो स्किम कम्तीमा पाँच वर्षसम्मका लागि गरिदिनुस् भन्नेजस्ता प्रतिक्रियाले आज सचेत हुने उपभोक्ता कति धेरै छन् भन्ने देखाउँछ । यसलाई हामी सकारात्मक रूपमा लिएका छौं । जगदम्बा जहिले पनि उपभोक्ताप्रति केन्द्रित रहन्छ र उपभोक्तालाई नै केन्द्रित गरेर यस्ता नवीन योजना भविष्यमा पनि ल्याउँछौं । 
अहिले फेरि हामीले आऔं सबै मिली देश बनाऔं भन्ने नयाँ योजना ल्याएका छौं । देशमा भूकम्प, बाढीपहिरोजस्ता दैवीप्रकोप बढ्दै गएको छ । योसँगै देशको राजनीतिक अस्थिरताले नेपाली, क्षेत्र, जात र धर्ममा विभाजित हुँदै गएका छन् । यस्तो अवस्थामा सबै नेपाली मिलेर देश बनाउनुपर्छ भन्ने उद्देश्यले ‘आऔं सबै मिली देश बनाऔं’ देश विकासका काम गरौं भन्ने योजना लन्च गरेका छौं । विकसित देशतर्फ उन्मुख होऔं भनेर अपिल गरेका हौं । 
rosan pathak

मेगा प्रोजेक्टमा सक्षम छौं
परियोजना नथाल्दै विदेशी सिमेन्टसँग हाम्रो सिमेन्ट तपाईंले प्रयोग गर्नुपर्छ भन्ने ट्रम्स राखिएको हुन्छ । नेपाली सिमेन्ट क्षमता, गुणस्तर दुवै हुँदा पनि राष्ट्रिय नीति स्पष्ट नभएको हुँदा यस्तो भएको छ । यदि नेपाली सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्ने हो भने प्रोजेक्ट सम्झौतामै नेपाल सरकारले नेपाली सिमेन्ट प्रयोग गर्नुपर्छ भनेर सप्ष्ट उल्लेख गर्न आवश्यक छ । आज जगदम्बा सिमेन्ट कुनै पनि मेगा प्रोजेक्टमा सक्षम छौं । त्यसैले हामीले नेपाल सरकारलाई रिपोर्ट हेरेर अगाडि बढ्दिनुस भनेका छौं । 

सामाजिक उत्तर दायित्व
हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत गतवर्ष मात्र जगदम्बा सिमेन्ट योगदान भन्ने कार्यक्रम लन्च गर्यौं । भूकम्प प्रभावित क्षेत्रमा गएर हामीले सद्भाव छात्रवृत्ति भनेर वितरण गर्यौं। भूकम्प प्रभावित जिल्लामै गएर बालबालिकालाई करिब–करिब ६ लाखको छात्रवृत्ति बाड्यौं । 
खेलकुद जगत्मा जगदम्बा लुम्बिनी फुटबल क्लब भनेर स्थापना गर्यौं । मेडिकल क्षेत्रमा पनि नेपाल एम्बुलेन्स सेवालगायतलाई सहयोग गर्दै आएका छौं । हामीले हाम्रो रेगुलर व्यवसायभन्दा माथि उठेर समाजलाई केही दिनुपर्छ भन्ने संस्कृति विकास गरेका छौं । यसमा हाम्रा उपभोक्ता तथा ग्राहकले साथ दिँदै  आउनुभएको छ । यसप्रति हामी कृतज्ञ छौं । अबका दिनमा पनि नवीनतम् योजनासाथ अगाडि बढ्छौं । 

आगामी योजना
नेपाल सिमेन्टमा अब आत्मनिर्भर हुने अवस्थामा पुगिसकेको छ । भोलि चीन र भारतमा वितरण गर्न सक्यौं भने त्यहाँ ठूलो बजार पाउन सक्छौं । चीन र भारत विश्वकै बजार भएकाले पनि हामी त्यो दिशातिर अगाडि बढनुपर्छ भन्नेमा छौं । हामी हाम्रो वस्तुमा भ्यालुएड गर्ने काम गर्छाैं । त्यो दिशातिर जगदम्बा सिमेन्ट लागिरहन्छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री