बिहीबार, १३ वैशाख २०८१

सप्तरी डुबान : नेपाल र भारत दुवै पक्षले ठोस कदम चाल्न सकेनन्,अब स्थानीयस्तरबाट समाधान खोजौँ

समयपोष्ट २०७४ साउन १७ गते ६:२५

प्रत्येक वर्ष सप्तरीको तिलाठी, सकरपुरा, लौनियाँलगायतका स्थानमा खाँडो र त्रियुगा नदीको पानीले दुःख दिँदै आएकोप्रति सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् । 

Advertisement

सप्तरीको राजविराजमा सोमबार आयोजित समुदायको सहभागितामार्फत जलस्रोत कूटनीति निर्माणका लागि आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा वर्षौंदेखि नेपाली भूभाग डुबानमा पर्दा नेपाल र भारत दुवै पक्षले हालसम्म कुनै ठोस कदम चाल्न नसकेको भन्दै दुवै मुलुकको कूटनीतिज्ञ पहल कमजोर रहेकाले यसलाई अब स्थानीयस्तरबाट पनि समाधान गर्नतर्फ लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । 
 
सोही कार्यक्रममा बोल्दै प्रोपब्लिक काठमाडौँका वरिष्ठ अधिवक्ता एवं कार्यकारी अध्यक्ष प्रकाशमणि शर्माले जलस्रोतसम्बन्धी दुई देशबीचको झगडाले कसैलाई फाइदा नपुग्ने बताए । साथै, उनले दुई देशका जनताले झगडा नगरी आपसी समन्वय गरेर भए पनि त्यसको निकासतर्फ उन्मुख भएर आपसी भाइचाराको नाताले सम्बन्ध अझ सुदृढ गर्नुपर्ने उल्लेख गरे । 
क्रेस नेपाल, राजविराजको आयोजना तथा प्रोपब्लिक, काठमाडौँ र भारतीय वातावरण तथा कानूनी संस्था, नयाँ दिल्ली, भारतको सहयोगमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, स्थानीय विकास अधिकारी सुदेव पोखरेल, महिला तथा बालबालिका कार्यालयका अनिता चौधरी, अधिकारकर्मी आभासेतु सिंहलगायत स्थानीयवासी र सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । 

यसैबीच, नेपाल–भारत खाँडो त्रियुगा समस्या समाधान नागरिक पहल समितिको पनि गठन गरिएको छ । 

नेपाली पक्षबाट तिलाठी गाविसका निवर्तमान अध्यक्ष दिनेश्वर मिश्रको संयोजकत्वमा नीरज झा, देवनारायण यादव, अमीर झा, कृपानन्द झा, आभासेतु सिंह, उपेन्द्र साहलगायत १६ सदस्य रहेका छन् । 

त्यस्तै, भारतीय पक्षबाट रामप्रवेश यादवको संयोजकत्वमा रवीन्द्र कामैत, धीरेन्द्र मेहता, प्रकाशचन्द्र मेहतालगायत १५ सदस्यीय समिति गठन गरिएको बताइएको छ । 

उहाँले दुई देशका नवगठित समितिले अबका दिनमा खाँडो र त्रियुगा नदीका कारण आउने बाढीको निकासबारे सर्वपक्षीय छलफल गरी ठोस कदम चाल्ने बताइएको छ । रासस 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री