शुक्रबार, १४ वैशाख २०८१

समृद्धिको राजमार्ग

समयपोष्ट २०७३ भदौ १२ गते ६:२९

अनिलकेशरी शाह
६० वर्षदेखिको नेपालको आधुनिक इतिहास अथवा त्योभन्दा पहिलाको इतिहास हेर्दा हामी अधिकांश नेपाली शक्तिका पुजारी हौं । दक्षिणकाली, पलाञ्चोक भगवती अथवा जहाँ शक्ति छ, त्यहाँ पूजा गर्न पुग्छौं । भगवान्मा शक्तिशाली भगवान् रोजेर पूजा गर्छाैं । राजनीतिमा पनि हामीले शक्तिपीठ, शक्तिशाली दलका मान्छे खौज्दै आयौं । हामीलाई शक्तिको पूजा ग¥यो भने सबै कुरा ठीक हुन्छ भन्ने विश्वास लाग्न थाल्यो । त्यही भएर हामीले राजनीतिमा लामो समय गुजार्यौंं । 
राणा शासन, प्रजातन्त्रपछि त्रिभुवन, बीपी कोइराला वा महेन्द्रले सुरु गरेको ३० वर्षे पञ्चायतकालमा होस् वा बहुदलीय व्यवस्था आइसकेपछि मनमोहन, कृष्णप्रसाद भट्टराईको पालामा होस्, त्यसले पनि भएन भनेर जनयुद्ध सुरु भयो, त्यसपछि अहिले हामी गणतन्त्रमा लम्किएका छौं । नेपालको इतिहास भन्नुस् नै राजनीतिले भरियो । सिंगापुर, अमेरिका, जर्मनी, जापानको कुरा त्यहाँ राजनीतिको कुरा कहिल्यै गरिँदैन । एकदम कट्टर साउदी अरेबिया होस् वा एकदम स्वतन्त्र बेलायत र अमेरिका होस् या बीचको मलेसिया, कोरिया होस्, त्यहाँको विश्लेषण गर्दा अर्थतन्त्रको विश्लेषण गरिन्छ । कुनै पनि देशमा जहाँ विकास भएको छ त्यहाँको विश्लेषण गर्दा आर्थिक विकास, जीवनस्तर, सर्वसाधारण जनताको आयस्तरको कुरा गर्छौं । हामी त्यो देशमा भएको राजा, प्रधानमन्त्री, राष्ट्रपतिको विश्लेषण गर्दैनौं । तर, हाम्रो देशमा नेपालको इतिहास सानो बालकलाई सोध्ने हो भने पनि उसले बीपी कोइरालादेखि अहिलेका प्रचन्डसम्म ल्याउँछ होला । 
हामी जुन बाटो समातेर हिँडेका छौं, त्यो बाटै गलत हो कि ? त्यसकारणले आज हामी जहाँ पुगेका छौं, सही स्थानमा पुग्न सकेका छैनौं । राणा शासनको कुरा नगरौं, त्यो बेलाको संसारै अर्कै थियो । बेलायतले भारतमाथि शासन गरिरहेको थियो । त्यो अवस्थालाई मिलाएर नेपाल स्वतन्त्र राष्ट्रका रूपमा त थियो नि ।
पञ्चायतीकालको कुरा गर्दा त्यो बेलामा ठुल्ठूला योजना अगाडि बढाउन सकिन्थ्यो । कुनै ठाउँमा केही गर्छु भनेर सर्वसाधारणले आवाज उठाउन सक्ने अवस्था थिएन । त्यो बेला श्री ५ को सरकारले गर्छ भनेपछि गर्छ भन्ने मान्यता थियो । कुलेखानी बनायो, त्यहाँ पहिला कति गाँउ थियो कसैलाई थाहा छैन । त्यो बेलामा राजमार्ग बन्यो ब्यक्तिका कति जग्गा गए, केही थाहा छैन् । जति बन्यो त्योभन्दा बढी गर्न सक्थ्यौं हामीले त्यो गर्न सकेनौं । कोरियामा विकास सुरु भएको त्यही बेलामा होे । बहुदलिय ब्यवस्था आएपछि हाम्रो सम्पूर्ण ध्यान राजनीतिमा केन्द्रित भयो । हामीले अर्थतन्त्र बिस्र्यौं । राणाकालीन समयदेखि प्रजातन्त्र, पञ्चायत, फेरि प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म जुन किसिमको नेपालमा राजनीतिक रूपान्तरण भएको छ, त्यस्तो संसारका कुनै पनि मुलुकमा भएको छैन । 
सामाजिक विकास हेर्ने हो भने जातीय आधारमात्रै नभई, महिला, पुरुषमात्र नभई अन्य भनेर छुट्याई सबैलाई मूलप्रवाहमा ल्याउने कामसमेत भएको छ । अब धार्मिक रूपान्तरणको कुरै नगरौं, हिन्दु राष्ट्रबाट गएर एकदम सेक्युलर मुलुकका रूपमा अगाडि लम्किएका छौं । राजनीतिक रूपान्तरण, धार्मिक रूपान्तरण, सामाजिक रूपान्तरण यो धेरै भए । हामी ठान्छौं– हाम्रो गन्तव्य हो भनेर तर सर्वसाधारण नेपालीलाई तपार्इं के चाहनुहुन्छ भनेर सोधियो भने उनीहरूले यो रूपान्तरणबारे जवाफ दिँदैनन् । उनीहरूको जवाफ हुन्छ, आफूले उत्पादन गरेको वस्तु वा सेवा बिक्री गर्ने राम्रो वातावरण होस, मेरो चुल्होमा दुई छाक राम्रोसँग खाना पाकोस्, मेरा बच्चाले राम्रो स्कुलमा पढ्न सकून, बिरामी भएको बेला सिटामोल नपाएर वा डाइरिया भएर मर्नु नपरोस् । हामीलाई चाहिने भनेको यत्ति नै हो । यो न राजनीतिक रूपान्तरणले दिन्छ न सामाजिक, धार्मिक रूपान्तरणले नै दिन्छ । सबैभन्दा बढी चाहिने र मुख्य रूपान्तरण भनेकै आर्थिक रूपान्तरण हो । यसबारे जति पनि नेतासँग बहस गर्दा उनीहरूले पहिला राजनीतिक रूपान्तरण गरौं, कति पैसाको मात्र कुरा गर्ने भन्नुहुन्छ । राजनीतिलाई सेटल गरौं भन्नेमा चासो राजनीतिक दलका नेता र कार्यकर्तालाई मात्र छ अरूलाई छैन । आर्थिक मुद्दालाई सेटल गर्ने कुरामा हरेक नेपालीको चासो छ । आर्थिक समृद्धि र रूपान्तरणको चासो र चिन्ता हिमाल पहाड तराई वा धनी गरिब सबैलाई छ ।
anil 2आर्थिक रूपान्तरणका आधार 
जबसम्म हामी आर्थिक विकासका लागि कुरै गर्दैनौं, योजना नै बनाउँदैनौ भने अरू रूपान्तरणले केही पनि फाइदा दिँदैन । नेपालमा आर्थिक रूपान्तरण ल्याउने हो भने नेपाललाई चीन, स्वीट्जरल्यान्ड, अमेरिका बनाउने सपना छाड्नुपर्छ, नेपालको आफ्नै मौलिक विशेषता छ । नेपाललाई मौलिक ढंगले समृद्ध बनाउनका लागि आर्थिक रूपान्तरणको खाँचो छ । र, रूपान्तरण भनेको, हामीले के राम्रो गर्न सक्छौं, अमेरिकाले सब्सिडी दिएर वा जर्मनीले ट्याक्स नलिएर हैन, हामीले के गर्दाचाहिँ अरू देशसँग प्रतिस्पर्धा गर्न सक्छौं । 
वित्तीय क्षेत्रलाई हेरौं, यहाँ अन्तर्राष्ट्रिय बैंक पनि छन्, क्षेत्रीयस्तरका बैंकहरू छन् र नेपालीले चलाएको बैंक पनि छन् । अहिले नाफामा गएका पहिलो र दोस्रोस्तरका बैंक त नेपालीले नै चलाएका बैंक छन् । यहाँ त नेपालीलाई बढी र विदेशीलाई कम भनेर कुनै सहुलियत त छैन । 
कृषि
किसानको छोरा अहिले म किसानको छोरा हुँ भन्न लजाउँछ । मेरो बाउ मलेसियामा काम गर्छ भन्दा छाती फुलाउँछ, खेतबारीमा काम गर्छ भन्न लजाउँछ भने यो कस्तो कृषिप्रधान मुलुक हो । अधिकांश जनशक्ति हाम्रो कृषिमै निर्भर छ । कृषिमा अब धान, चामल, गहुँ परम्परागत खाद्यवस्तु मात्रै हैन के उत्पादन गर्यौं भने यहाँ मात्र हैन कि विदेशमा समेत निर्यात गर्न सक्छौं भन्नेतिर नयाँ सोच र योजना अगाडि सार्नुपर्यो । आजको दिनमा खाडी मुलुकतिर नेपालबाट १० भन्दा प्लेन उढ्ने गर्छ । त्यो प्लेनमा ९० प्रतिशत मजदुर हुन्छन् । नेपालबाट गएका सबैको विशेषता एउटै हुन्छ, उनीहरूको लगेज हुँदैन । तर, उताबाट आउँदा उनीहरूसँग झोला हुन्छ, टीभी हुन्छ, सामान हुन्छ, । प्लेनमा मान्छे त टन्नै छ तर मुनी कार्गो बोक्ने खाली हुन्छ ।
 खाडी क्षेत्रमा सबैभन्दा बढी पैसा छ र उनीहरूलाई सबैभन्दा राम्रो चीज चाहिएको छ । हाम्रो रायोको साग होस्, च्याउ होस् वा सुन्तला होस, यी चीजहरू हामीले प्लेनमा हालेर खाडी क्षेत्र पुर्याउन सक्यौं भने यति डलर आउँछ कि दाल, चामल त हामीले संसारको जुनसुकै कुनाबाट किनेर खान सक्छौं । हाम्रो सरकारले के हेर्नुप¥यो भने कुन क्षेत्रमा के उत्पादन गर्ने ? जहाँ स्याउ हुन्छ त्यहाँ सरकारले मल, बीउको सुविधा पुर्याउनुपर्यो, जहाँ च्याउ हुन्छ, त्यसका लागि सरकारले योजना बनाएर कृषकलाई अगाडि बढाउनुपर्यो । किसानले आफ्नो भौगोलिक हावापानीसुहाउँदो तरकारी तथा फलफूल लगाउनुपर्यो। एउटै जमिनबाट वर्षमा तीन बाली उत्पादन गर्न सक्यौं भने रुपैयाँ, भारुमा हैन, डलरमा आम्दानी गर्न सकिन्छ । अनि किसान कसैको ऊँट चराउनलाई खाडी जान पर्दैन । त्यसैले पहिलो हाम्रो आर्थिक रूपान्तरणलाई हेर्नुपर्ने भनेको कृषि हो । 
पर्यटन 
आर्थिक रूपान्तरणको दोस्रो आधार भनेको पर्यटन हो । घुम्न जाने बिश्वका १० ठाउँको सूचीमा नेपाल परेकै हुन्छ । पर्यटक नेपाल आउन चाहन्छन्, केही बिमानस्थल बनिरहेका छन्, तिनलाई छिटो बनाउनुपर्छ । विदेशी आओस् र उसले टन्न खर्च गरोस् । तर विडम्बनाको कुरा त के छ भने तिनै विदेशी बस्ने फाइभ स्टार होटेलमा बन्ने परिकारमध्ये झन्डै ७० प्रतिशत विदेशबाट आयात हुने गरेको छ । के नेपाली कुखुराले अन्डा पार्दैन, के हाम्रो गाईको दूधले चीज बन्दैन, के हाम्रो सुँगुर बंगुरको पोर्क हुँदैन ? सबै विदेशबाट आउँछ । नेपालमा धेरै पर्यटक आउन र बढी पैसा पनि खर्च गरून् । उनीहरूले खर्च गरेको पैसा समावेशी रूपमा हाम्रा गाउँ–गाउँमा पनि जाओस् । पर्यटन क्षेत्र विकासका लागि यसरी सरकारले हेर्नुपर्छ । 
भौतिक पूर्वाधारको विकास
देशको आर्थिक रूपान्तरणका लागि भौतिक पूर्वाधार विकास आवश्यक छ । रेल्वे, हाइवे जसले चीन र भारतलाई पनि लिंक गरोस् । 
हाइड्रो भनेको बिजुली हैन पानी हो । हाम्रो छिमेकीलाई पनि सबैभन्दा बढी चासो र चिन्ता भनेकै पानी कसरी ल्याउने भन्ने छ । मुख्य कुरा भनेको पर्याप्त ड्यामको आवश्यकता छ । हामीलाई सिँचाइ गरेर बाँकी भएको पानी छिमेकी देशले पनि उपयोग गर्न पाउँछन् । अर्को आर्थिक विकासका लागि खनिज पनि एक महत्वपूर्ण साधन हो । सिमेन्टका लागि नेपालमा धेरै ठाउँमा कच्चा पदार्थ छन् । हिमालमुनि बहुमूल्य खनिज रहेको अध्ययनले देखाएका छन् । यसको भरपूर उत्खनन र प्रयोग हुनुपर्छ । 
सेवा क्षेत्र
सेवा क्षेत्रमा बैंकिङ, व्यापारिक प्रक्रिया, स्वास्थ्य, शिक्षा आउँछन् । शिक्षाबारे कुरा गर्दा सबैभन्दा राम्रो विश्वविद्यालय यहाँ आउन दिनुपर्छ । त्यो विश्वविद्यालयले अरू हैन चिनियाँ र भारती विद्यार्थी नै ल्याउँछ । हाम्रो जनशक्तिले पनि यहीं पढ्न पाउँछ, विदेशी विद्यार्थीलाई ल्याएर आर्थिक आम्दानी पनि गर्छ । स्वास्थ्यको कुरा गर्दा संसार नै अहिले आयुर्वेदतिर आकर्षित भइरहेको बेला नेपाल आयुर्वेदका लागि हब बन्न सक्छ । हामीसँग अथाह जडीबुटीको भण्डार रहेको छ । प्राचीनकालमा हनुमानले यहींबाट जडीबुटीको पहाड नै बोकेर गएको भन्ने किंवदन्ती नै छ । त्यसैले आयुर्वेदलाई अगाडि बढाउने हो भने पनि संसारका लागि औषधि यही बन्न सक्छ । थाइल्यान्डजस्तै विश्वका कयौं देशले हेल्थ टुरिजमका कारण मिलियन्सडलर आम्दानी गर्न सफल भइरहेका छन् । 
जनशक्ति 
आर्थिक रूपान्तरणका लागि दक्ष जनशक्ति निर्माण आवश्यक छ । त्यो जनशक्ति स्वदेशमै राख्नलाई होस् वा विदेशमा पठाउनलाई । एउटा नेपाली कामदार विदेश जान्छ तर उसले कुनै माथिल्लो पोस्टमा काम गर्न सक्दैन । उनीहरू निर्माण क्षेत्रमा मजदुरी गर्न जाँदै छन् भने उनीहरूलाई डकर्मी, प्लम्बिङ, इलेट्रिसियनजस्ता श्रम क्षेत्रमा तालिम हुनुपर्छ । आवश्यक तालिम दिने हो भने अरू देशबाट आएका कामदारभन्दा उसले देखाएको दक्षताका आधारमा राम्रो पद र तलब पाउन सक्छ । नेपालीलाई पढ्ने वातावरण दिने र उनीहरूले चाहेको स्थानमा काम दिन सक्नु नै विकासको अर्को ढोका हो । अहिले नेपालले निर्यात गरेको नै जनशक्ति हो । हाम्रोजस्तो देशमा अहिलेको अर्थतन्त्र धान्ने हो भने जनशक्ति नै निर्यात गर्नुपर्छ । 
पन्ध्र वर्षमा जुन राजनीतिक उथलपुथल भएको छ । हामी कार्पेट निर्यात गर्न सक्ने भएको भए, गार्मेन्ट निर्यात गर्न सक्ने भएको भए, माइक्रो चिप निर्यात गर्न सक्ने भएको भए, यहाँ आन्दोलन चर्कनेबित्तिकै, यहाँ लोडसेडिङको समस्या चर्कनेबित्तिकै, यहाँ मजदुर समस्या हुन्थ्यो र हाम्रा कलकारखाना बन्द हुन्थे, विदेशी मुद्रा आउँदैनथ्यो । तर, हामीले मान्छे निर्यात गर्नाले यहाँ यत्रो नाकाबन्दी भयो तर पनि हाम्रो अर्थतन्त्रमा प्रभाव परेन । नेपालका कलकारखानामा उत्पादन ठप्प भए पनि विभिन्न मुलुकमा पुगेकाले पैसा पठाइरहेका थिए । जबसम्म राजनीतिक स्थिरता आउँदैन, तबसम्म जनशक्ति निर्यातबाटै हामीले आम्दानी गर्नुपर्छ । 
विदेशमा काम गर्ने नेपालीले कामसँगै सीप पनि सिकिरहेका हुन्छन् । यहाँ वातावरण बन्नेबित्तिकै उनीहरू पुँजी र सीप लिएर फर्कन्छन् । यो भएपछि आर्थिक रूपान्तरण हुन्छ । सजिलो छैन, छिटो हुँदैन तर सुरुवात भने गर्नुपर्छ । भनिन्छ– बीस वर्षअगाडि बिरुवा रोपेको भए अहिले रूख भइसक्थ्यो, २० वर्षअघि आर्थिक रूपान्तरणका लागि काम थालेको भए जमाना अहिले कहाँ पुगिसक्थ्यो । रूख पनि हुन्थ्यो, आर्थिक समृद्धि पनि हुन्थ्यो । तर, यसका लागि दोस्रो मौका हो आज । आज हामीले रूख रोप्यौं भने त्यसको फल बीस वर्षपछि हाम्रा छोराछोरीले खान पाउँछन् भनेझैं आज हामीले आर्थिक रूपान्तरणका लागि काम सुरु ग¥यौं भने २० वर्षपछि मुलुकको कायापलट हुनेछ । तर, यसका लागि दुई सर्त छन् । 
anil 3सबै दलका आर्थिक एजेन्डा
अहिले राजनीति दलले यसका लागि काम नगरे पनि नेताहरूको भाषणमा आर्थिक समृद्धिको कुरा आउन थालेको छ । पहिला आर्थिक शब्द नै आउँदैनथ्यो, खालि राजनीतिक कुरा हुन्थ्यो । अब राजनीतिक शब्दावलीले जनता आकर्षित हुँदैनन् भन्ने बुझेर उनीहरूले आर्थिक क्रान्ति, आर्थिक विकास, आर्थिक रूपान्तरण, अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ जस्ता शब्दावली प्रयोग गर्न थालेका छन् । काम गर्नुअघि सबैभन्दा पहिला कुरा गर्नुपर्छ, अहिले कुरा सुरु भएको छ ।
वित्तीय क्षेत्रको विकास 
 वित्तीय क्षेत्र मजबुत नभएसम्म कहीं पनि विकास आउँदैन । वित्तीय क्षेत्र बलियो बनाउनका लागि नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ पुँजी बनायो, त्यो पहिलो सकारात्मक कदम हो । अर्थतन्त्रको एउटा पाटोका रूपमा वित्तीय क्षेत्र पनि गनिन्छ । जसरी मुटुले हाम्रा अंग–अंगमा रगत पुर्याउँछ , वित्तीय क्षेत्रले अंग–अंगमा पुँजी पुर्याउँछ  । र, जहाँ–जहाँ पुँजी पुग्छ, त्यहाँ विकास हुन्छ । आज हाम्रो सुदूरपश्चिममा किन विकास भएन, त्यहाँका मान्छे अल्छी भएर, काम गर्न नगरेर हैन ।
त्यहाँ कहिले पनि पुँजी नै पुगेन । अब अर्थतन्त्रमा विकास गर्ने हो भने यसको सुरुवात वित्तीय क्षेत्रबाट हुनुपर्छ । आजको दिनमा वित्तीय क्षेत्र यति स्वस्थ र मजबुत भएको छ कि यो देशको इतिहासमा यसअघि भएकै थिएन । झन्डै ८५ अर्बसम्मको हाइड्रोपावरलाई नेपाली बैंकले नै लगानी गर्न सक्ने अवस्था सुरु भइसकेको छ । 
सबैमा छ विकासको चिन्ता
नेपालमा प्रजातन्त्रको जग बसिसकेको छ, नेताहरूमा अब रूपान्तरण सम्भव छ, जनतालाई सिंहदरबारमा को बसेको छ, को मन्त्री छ, कस्तो गठबन्धन छ, त्यसमा मतलब छैन, जनतालाई आफू बसेको ठाउँको विकासमा चिन्ता छ । नेताहरू भााषण गर्न जब जनताका अगाडि पुग्छन्, जनताले अब बाटो यहाँ कहिले बन्छ, हामीले उत्पादन गरेका वस्तु र सेवा कहाँ लगेर बिक्री गर्ने, हाम्रा लागि सर्वसुलभ स्वास्थ्य सेवा खोई भनेर नेतालाई प्रश्न गर्न थालेपछि आर्थिक रूपान्तरणले खोजेको राजनीति त्यो बेलामा हुन्छ । राजतन्त्र थियो वा कुनै निरंकुश सरकार थियो भने जनता श्रोता र दर्शकमात्र हुन्थे, विकासका कुरा वा सरकारविरुद्ध कुनै कुरा उठाए भने कारबाहीको सामना गर्नुपथ्र्यो । तर, हामी प्रजातन्त्रको अभ्यास गरिरहेका छौं, प्रजातन्त्रमा केवल राजनीतिमा लागेको मान्छेमात्र हैन, सबैभन्दा ठूलो खेलाडी भनेको जनता हुन् । किनभने अब कसैको कोखमा जन्मेको भरमा वा कुनै बन्दुकको नालको भरमा नेता बन्न सक्दैन । अब त नेता बन्ने आधार भनेको जनताको भोट हो । जसले आर्थिक रूपान्तरण ल्याउन सक्छजस्तो लाग्छ, अब भोट त्यसलाई दिनुपर्छ । 
जमिन होइन सेयरको अंशबन्डा
कहिलेकाहीं सुनिन्छ– नेपाली उत्पादनलाई प्रोत्साहन गरौं भन्ने कुरा, जसले राम्रो गुणस्तरको सामान उपयुक्त मूल्यमा दिन्छ, उसलाई प्रोत्साहन गर्नुपर्छ । आज हाम्रो छिमेकी देशबाट लुगाफाटो, जुत्ता नआउने हो भने रिक्सा चलाउने मजदुर, सवारीसाधनका सहयोगी, किसान दाजुभाइले जाडो महिनामा ज्याकेट, टोपी र पन्जा अनि खुट्टामा जुत्ता लगाउन सक्दैनथे होला । यदि नेपालीले मात्रै बनाएको लगाउने भन्ने हो भने वस्तुको मूल्य बढ्छ र गुणस्तर घट्छ, जसले सामान बनाउँछ, त्यो करोडपतिबाट अर्बपति बन्छ, नेपाली जनतालाई केही फाइदा हुँदैन । 
अब नेपाली राजनीतिक दलका नेताहरूले सोचविचार गर्नुपर्यो कि कुन कुराबाट नेपाली जनतालाई फाइदा पुग्छ । हामी धेरै हाइड्रोको कुरा गर्छौं, आईपीओ गर्दा निःशुल्क होइन, त्यसको सेयर त्यहाँका स्थानीयलाई बेचौं, उनीहरूले परिवारमा अंशबन्डा गर्दा छोरालाई फलानो सिमेन्ट उद्योगको सेयर, छोरीलाई फलानो हाइड्रोको सेयर भन्ने अवस्था सिर्जना हुनुपर्छ । पुख्र्यौली जग्गा चार भाग लगाएर त्यहाँ आर्थिक रूपान्तरण हुँदैन । कुनै कुरा सित्तैमा पायो भने त्यसको कुनै मतलब नै हुँदैन, त्यसैले स्थानीयले सेयरमा पैसा हालेकै हुनुपर्छ, नसक्नेलाई बैंकले सहयोग गर्नुपर्छ । त्यसपछि नेपालको हाइड्रोको होस्, सिमेन्टको होस, खानीको होस्, यी कुराको विकास हुँदा नेपाली जनतालाई फाइदा हुन्छ । राजनीतिक दलका नेताहरू खालि नेपाललाई फाइदा हुनुपर्यो भनिरहेका हुन्छन् । उनीहरूले नेपाललाई फाइदा हुनुपर्यो भनेर के भनेका हुन् त ? माउन्ट एभरेष्ट, फेवाताल, लुम्बिनीलाई हो कि वा उनीहरूका कार्यकर्तालाई फाइदा हुनुपर्यो भनेको हो ? फाइदा त सम्पूर्ण नेपाली जनतालाई हुनुपर्यो । सानो एउटा समूहलाई होइन कि समग्र नेपालीलाई फाइदा हुनुपर्यो । निःशुल्क सेयर दिने होइन कि बिक्री गर्नुप¥यो । कुनै पनि योजनाको २५ प्रतिशत सेयर नेपाल सरकारलाई दिने हैन, त्यसको सेयर त्यहाँका सर्वसाधारणलाई बेच्नुपर्छ । सर्वसाधारण जनतालाई हाइड्रोले फाइदा भएपछि कसैले पनि रोक्दैन, कसैले रोक्न आयो भने पनि रोक्न दिँदैन । ट्रान्समिटर लाइन तान्दा कुन–कुन किसानको खेतमा परेको छ, उनीहरूलाई सेयर बेचौं । यस्तो किसिमको फरक सोच आर्थिक रूपान्तरणका लागि ल्याउनुपर्छ ।
हाम्रो आर्थिक रूपान्तरणका लागि आर्थिक, राजनीतिक, सामाजिक विज्ञहरू सबै बसेर आर्थिक विकासका लागि नयाँ चिन्तन विकास गरे काम थालनी गर्नुपर्छ । यसो गर्ने हो भने पाँचदेखि सात वर्षमा यो देश चिन्नै नसक्ने बनाउन सकिन्छ । गाउँघरमा उत्पादित कृषिजन्य वस्तुको बिक्रीका लागि कस्तो बजार, कति मूल्यमा बिक्री गर्न सकिन्छ, गाउँमा कसरी आर्थिक विकास गर्न सकिन्छ भन्नेबारे परिवार–परिवारभित्रबाटै नयाँ सोच विकास हुन जरुरी छ । त्यो सोचचाहिँ कुनै विदेशी आएर गरिदेला वा कुनै नेता कुर्सी र कारमा बसेर गरिदेलान् भनेर हुँदैन, गाउँ–गाउँमा, चुल्होको अगाडि त्यो सोचको विकास हुनुपर्यो ताकि यो प्रजातन्त्र हो । दिमागमा त्यो सोच अंकुरण गराएर नेताहरू भाषण गर्न आँउदा उनीहरूको भाषण सुन्ने होइन कि उनीहरूलाई प्रश्न गर्न सक्नुपर्यो। आफूले गरेको प्रश्नको उत्तर दिन सकेन भने भन्न सक्नुपर्यो, तपार्इंले जति खाममा पैसा दिनुस्, भोज, जाँड खुवाउनुभए पनि तपाईंका लागि हामी भोट दिन सक्दैनौ भनेर । जब यस्तो चेतना सबै जनतामा आउँछ, तब प्रजातन्त्रले आर्थिक रूपान्तरणको बाटो सबैलाई देखाउँछ । 
राजनीतिक नेतृत्वको भूमिका
कुनै परिवार, संस्था वा देशमा नेतृत्वले महत्वपूर्ण भूमिका खेल्छ, नेतृत्वले सबै काम गर्ने होइन, वातावरण बनाउने हो र मार्गनिर्देशन गर्ने हो । देशको कुरा नगरौं परिवारमै पनि घरमुली जुवा खेल्ने, जाँड–रक्सीमा पैसा उडाउने भएपछि परिवारमा अरू जति राम्रो सदस्य भए पनि परिवारको भविष्य राम्रो हुँदैन । संस्थामा पनि त्यस्तै हो– एकदम राम्रो काम गर्ने कर्मचारी भए भने पनि माथिल्लो पोस्टको मानिस भ्रष्ट छ भने संस्था पनि डुब्छ । देशको कुरा पनि त्यही हो । तर, हाम्रो देशको कुरा गर्दा राजनीतिमा लागेका सबै खराब नै छन् भनेरचाहिँ नसोचौैं । कहिलेकाहीं हामी ओभर जेनेरेलाइज पनि गर्छौं कि राजनीतिमा सबै चोरै चोर छन्, ठगै ठग छन्, त्यो पनि होइन ।
राजनीतिमा धेरै राम्रा मान्छे पनि छन् । तर, हाम्रो सिष्टम नै यस्तो भयो कि राम्रो काम गर्ने मौका नै पाएनन् । मौका पाउनुपर्ने बेलामा सिष्टमले नै उनीहरूलाई परिवर्तन गरिदियो । उनीहरूले सिष्टमलाई परिवर्तन गर्न सकेनन् । म राजनीतिक पार्टीका नेताहरूलाई पनि त्यही भन्छु, ‘तपार्इं पार्टीको जुन संरचनामा हुनुहुन्छ, त्यसले तपाईंको सोचलाई प्रोत्साहन गरेन भने उस्तै–उस्तै सोच भएकाहरू मिलेर नयाँ विकल्पमा आँट्नुस्, नयाँ संरचना बनाउनुस्, हामीजस्ता लाखौं नेपालीले तपाईंको समर्थन गर्छौं । सिर्फ आर्थिक रूपान्तरणचाहिँ हाम्रो मुख्य उद्देश्य हो भन्ने संरचना आयो भने करोडौं नेपालीले ताली बजाउँछन् ।
अन्त्यमा राजनीतिक दलमा आबद्ध नेताहरू जुन संरचनामा हुनुहुन्छ, त्यहाँ परिवर्तन ल्याउनुस् । नेपालको नेता अब प्रो उत्तर वा प्रो दक्षिण होइन, अब नेपाललाई प्रो नेपाल नेता चाहिएको छ । आर्थिक मुद्दालाई बोल्नेमात्र हैन, कार्यान्वनमा लाग्नुस् । काम गर्दाखेरी नेपाली जनताको हित के हो भनेर हेर्नुप¥यो । जनता भनेको आफ्नो पार्टीको सदस्यता लिनेमात्र होइन । कहिले पनि र्यालीमा, आमसभामा नगएको सर्वसाधरण नेपाली जनता हो । खेतमा जोतिरहेको होस् या डाक्टर इन्जिनियर होस् या विदेशमा काम गरिहेको होस्, सबै नेपाली जनता हुन् । मेरो विचारमा अहिले चाहिने भनेको आर्थिक समृद्धि हो । आर्थिक रूपान्तरण ल्याउनलाई त्यही किसिमको राजनीतिक संरचना ल्याउनुपर्छ । जबसम्म देश अस्वस्थ हुन्छ, अस्थिरता हुन्छ, बन्द–हडताल हुन्छ, तबसम्म आर्थिक विकासमा बाधा पर्छ । राजनीतिक स्थिरता हुँदैमा सबै कुरा ठीक हुन्छ भन्ने पनि हुँदैन, कति स्वस्थ मानिस हुन्छन् तर ऊ इनएक्टिभ हुन्छ, पसिना बगाउँदैन, दिमाग चलाउँदैन भने रूपान्तरण, परिवर्तन त सम्भव छैन । स्वस्थ भइसकेपछि उसले दिमाग चलाउनुपर्यो, पसिना बगाउनुपर्यो, त्यो भनेको आर्थिक रूपान्तरण हो । स्वस्थ हुनु भनेको राजनीतिक स्थिरता हो । स्वस्थ मान्छे सफल हुुनु भनेको आर्थिक रूपान्तरण हुनु हो । यसतर्फ अब सबै सचेत बन्न आवश्यक छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री