शनिबार, ८ वैशाख २०८१

सार्क अर्थमन्त्रीहरूको बैठक : भन्सार तथा गैरभन्सार अवरोध हटाउनमा जोड

समयपोष्ट २०७३ भदौ १२ गते २:५१

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थ मन्त्रीहरूले सार्क क्षेत्रको व्यापारका क्रममा देखिएका भन्सार तथा गैरभन्सार अवरोध हटाउन जोड दिएका छन् । शनिबार सम्पन्न सार्क अर्थमन्त्रीहरूको बैठकले सार्क क्षेत्रको व्यापार विस्तार र सहजीकरणका लागि यस क्षेत्रमा देखिएका भन्सार अवरोध र गैरभन्सार अवरोध सकेसम्म छिटो हटाउनुपर्नेमा जोड दिएको हो । 
पाकिस्तानको इस्लामावादमा सम्पन्न बैठकले सार्क राष्ट्रबीचको व्यापार अभिवृद्धि गर्न भन्सार प्रक्रिया तथा कागजातमा एकरूपता ल्याउनुपर्ने निर्णय गरेको छ ।
त्यसैगरी व्यापार प्रवद्र्धनका लागि आश्यक पूर्वाधारको सुधार एवं विकासमा जोड दिँदै बैठकले सार्क राष्ट्रबीचको आर्थिक सहयोग अभिवृद्धि गर्न दोहोरो कर मुक्तिसम्बन्धी सार्क क्षेत्रीय सम्झौतालाई परिमार्जन गर्न सहमति दिएको छ ।
त्यसैगरी सदस्य राष्ट्रबीच लगानी प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले तयार गरिएको सम्झौतालाई अन्तिमरूप दिने कामलाई प्राथमिकतामा राख्न पनि सबै सार्क अर्थमन्त्रीहरूले प्रतिबद्धता जनाएका छन् । 
सार्क अर्थमन्त्रीहरूको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सार्क राष्ट्रबीच आर्थिक सहयोग अभिवृद्धि गर्न र क्षेत्रीय आर्थिक एकीकरणतर्फ अभिमुख हुनुपर्नेमा जोड दिँदै सार्क वडापत्रमा उल्लेख भएका उद्देश्यहरू हासिल गर्न सार्क राष्ट्रहरू एकाआपसमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 
अर्थमन्त्रीहरूको बैठकले यसअघि बुधबार बसेको सार्क अर्थसचिवस्तरीय बैठकले गरेका निर्णय पनि अनुमोदन गरेको थियो । सार्क अर्थ सचिवस्तरीय बैठकले क्षेत्रीय आर्थिक विकासका लागि दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० र ‘स्याटिस’लगायतका व्यापार सहजीकरण र व्यापार अभिवृद्धिमा जोड दिएको थियो ।
अर्थ सचिवस्तरीय बैठकमा नेपालबाट अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख तथा सहसचिव वैकुन्ठ अर्याल सहभागी भएका थिए । 
त्यसअवसरमा सार्क क्षेत्रको सामाजिक आर्थिक विकासका लागि स्रोत उपलब्ध गराउन स्थापित सार्क विकास कोषको २५ औं बैठक र गभर्निङ काउन्सिलको पाँचौं बैठक बसेको थियो । यी बैठकहरूमा सामाजिक क्षेत्रका आयोजनालाई प्रभावकारी बनाउने र आर्थिक पूर्वाधारका क्षेत्रका आयोजनालाई अघि बढाउने बारेमा छलफल भएको थियो ।
कारोवार दैनिक
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री