सोमबार, ११ असोज २०७८

सकसमा सुन्दर रेडपान्डा

समयपोष्ट २०७३ साउन ३२ गते ८:४६

मनोज पौडेल  ।  रेडपान्डा सुन्दर र मनमोहक स्तनधारी वन्यजन्तु हो । अति लजालु र मनमोहक स्वभावका कारण यस्को मायालु हाउभाउबाट सबै रमाउँछन् । कतिपय वैज्ञानिक रेडपान्डालाई सौन्दर्य र शालीनताको महान् सिर्जनाका रूपमा व्याख्या गर्छन् । 
नेपालीमा हाब्रे भनेर चिनिने रेडपान्डालाई ठाउँ–ठाउँमा विभिन्न नामले चिनिन्छ । हाब्रेलाई स्थानीय तामाङ र घले भाषामा ‘होप’ भनेर चिनिन्छ । हाब्रेलाई कतिपय ठाउँमा स्थानीयले ‘ओक्रा’ र ‘वन कुकुर’ भन्ने गर्छन् । त्यस्तै पूर्वी नेपालमा पु“डेकुदो भनेर चिनिन्छ । 
हाब्रेको शरीर रातो, खैरो र मुख, कानको भित्री भाग तथा गाला सेता रङको हुन्छन् । नाकको टुप्पो चहकिलो कालो हुन्छ । शरीरको तल्लो भाग कालो, सेतो जुँगा, सेता गालामा राता खैरा रङका लामा धर्का हुन्छन् । यसको पुच्छरमा हल्का र गाढा राता रङका पट्टी हुन्छन् ।
समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा हाब्रे पाइन्छ । १० देखि २५ डिग्री सेल्सियस तापक्रममा बस्न मन पराउँछ । निगालाधारी वन क्षेत्रमा बस्न रुचाउने हाब्रे बा“स तथा भालुचिन्डे र निगालोको टुसालाई आहाराका रूपमा खान्छ । कतिपय अवस्थामा यसले अन्डा, साना चरा र कीरा खाने गरेको अमेरिकाको स्मिथसोनीयन इन्स्टिच्युटका अनुसन्धाता डा. एलिजावेथ फ्रिम्यान बताउँछिन् । तर, नेपालमा भने रेडपान्डाले ९० प्रतिशत बढी निगालोलाई नै आहारका रूपमा खाने वन्यजन्तु विषेशज्ञ प्रा. डा. करणबहादुर शाह बताउँछन् । आईयुसीएनले यसलाई जोखिमयुक्त सूचीमा राखेको छ । नेपालमा यसलाई राष्ट्रिय वन्यजन्तु तथा संरक्षण ऐन–२०२९ अनुसार संरक्षित जनावरका रूपमा राखिएको छ । त्यस्तै यो साइटिस सूचीमा सूचीकृत स्तनधारी वन्यजन्तु पनि हो । Red Panda_1
वयस्क रेडपान्डा दुई फिट लामो हुन्छ । बाक्लो रौंसहित गुच्चाजस्तो घुम्रिएको पुच्छर हुन्छ । चिसो मौसमबाट बचाउन यसले ठूलो मद्दत गर्छ । यसको खुट्टा पनि रौंले ढाकिएको हुन्छ । तीनदेखि ६ किलो तौलसम्मको हुन्छ । नेपालमा ‘एलुरेन्स युजन्स’ प्रजातिको हाब्रे पाइन्छ । 
सन्तुलित पारिस्थितिक प्रणालीको सूचक मानिने यो अति नै लजालु तथा सबैको मन प्रफुल्ल पार्ने स्वभावको हुन्छ । बा“सघारी र वरिपरि स्वच्छ पानी पाइने ठाउँमा यो प्राणी बस्छ । बासस्थान र आहारामा समस्या पर्नासाथ यो प्राणीले बासस्थान सार्छ । त्यसकारण जहाँ यो बस्छ, त्यो ठाउँ राम्रो र स्वच्छ ठाउँमा बस्ने हुँदा स्वस्थ पारिस्थितिक अवस्था मानिने वन्यजन्तु विषेशज्ञ डा. शाह बताउँछन् । यो स्वच्छ पानी भएको सयदेखि तीन सय मिटर क्षेत्रभित्र बस्छ । दुई÷तीन घन्टामा एकपटक पानी पिउँछ । 
म्याग्दी, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, मनाङ, मुस्ताङ र बागलुङलगायत २४ जिल्लामा रेडपान्डा पाइने विश्व वन्यजन्तु कोषले जनाएको छ । नेपालमा सातसय देखि आठ सयका हाराहारीमा रहेको अनुमान गरिएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान, जापान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । विश्वमा १० हजारको संख्यामा रहेको हुन सक्ने अनुमान गरिएको छ ।
सुन्दर मनमोहक रोमाञ्चक प्राणी भने अहिले सकसमा परेको छ । वन फँडानी र विभिन्न रोगव्याधीले यसको अस्तित्वमा संकट निम्त्याएको छ । जलवायु परिवर्तनले पनि यसको बासस्थानमा प्रत्यक्ष असर पार्न थालेको देखिन्छ । मानवीय गतिविधिका कारण रेडपान्डा जोखिममा पर्न थालेका बताइन्छ । अव्यवस्थित निर्माण, वन फँडानी तथा चोरी निकासीका कारण रेडपान्डा जोखिममा पर्न थालेकाले छ । एक÷दुई वर्षयता यसलाई मारेर छाला निकाल्ने गरिएको छ । अन्य वन्यजन्तुजस्तै यसको पनि छाला बहुमूल्यमा बिक्री हुन्छ भन्दै मार्ने प्रवृत्ति बढेको जुलोजिकल सोसाइली अफ लन्डनका नेपाल च्याप्टर प्रमुख डा. हेमसागर बराल बताउँछन् । तर, अहिलेसम्म छाला बिक्री भएको कुनै तथ्यांक छैन । यसको छाला कहीँ कतै प्रयोग हुने पनि सुनिएको छैन । विनाआधार प्रमाण हल्लैहल्लामा छाला झिक्ने प्रवृत्ति बढेको छ । दुई÷चार महिनायता काठमाडौं, काभ्रे र सिन्धुपाल्चोकमा छालासहित व्यक्ति पक्राउ परेको घटनाले यो प्राणी सकसमा परेको देखिन्छ । 
सत्य–तथ्य
अभिनेत्री अन्ना केन्डरिकले आफूले अभियन गरेको चलचित्रमा रेडपान्डाको प्रसंग आएको सम्झिन्छन् । त्यसो त उनले प्रोस्पेटक्ट जु ब्रकलिनमा पान्डा प्रत्यक्ष पनि देखेकी छन् । ‘अवलोकन गर्दा कहिले यो प्राणी फ्याउरो, कहिले भालु र अनि कहिले बिरालोजस्तो देखिन्छ । वास्तवमा यो सबैखाले मायालु प्राणीको एकीकृत रूपजस्तै लाग्छ,’ उनले भनिन् । 
यो प्राणीबारे चलचित्र बनेका छन् । तिनीहरूले आनन्ददायी प्रेरणा दिन्छन् । त्यसमध्येको ‘कम्फु पान्डा’ एक चलचित्र हो । दुई उपजातिमा विभाजित जंगलमा बस्ने यो प्रजातिको संख्या १० हजारको हाराहारीमा छ । 
पान्डाको बच्चाले आफू बसेको ठाउँमा दिसा–पिसाब गर्दैनन् । ती बच्चाले दिसा–पिसाब गर्ने बेलामा आमाको भूमिकामा रहेका व्यक्तिलाई जनाउ दिने गर्छन् । त्यही भएर उनीहरूको सेवा सुसारमा रहेका व्यक्तिले यो कुरा ख्याल गर्नुपर्छ । पान्डाको प्रजनन प्रक्रियमा पनि बेग्लैखालको हुन्छ । नया“ बच्चा जन्मेपछि माउ खुसी हुन्छ । 
प्रजनन समयमा रेडपान्डाका लागि उचित वातावरण तयार पार्नुपर्छ । अलिकति पनि अवरोध भयो भने तिनीहरूको प्रजनन खल्बलिन सक्छ । त्यही भएर प्रजननकालदेखि तिनीहरूको सफल जीवन निर्धारित हुन्छ । स्मिथसोनियन इन्स्टिच्युटका जीवशास्त्री केन लेङका अनुसार रेडपान्डाको शारीरिक विकासक्रम कुकुर वा बिरालोको भन्दा सुस्त हुन्छ । जन्मेको चार महिनापछि बल्ल बच्चाको प्रारम्भिक विकास भइसक्छ । ]Red Panda, peeking down (by Red Panda Network/Brad Parsk) कतिपय क्षेत्रमा बासस्थान नष्ट भएकाले रेडपान्डालाई सुरक्षित राख्न सकिएको छैन । यसको जीवन प्रभावित हुनुमा जलवायु परिवर्तनको भूमिका छ,’ जीवशास्त्री एलिजावेथ फ्रिम्यान भन्छिन्, ‘तिनीहरू हिमाली भेगको जुन क्षेत्रमा बस्दै आएका छन्, जलवायु परिवर्तनको असरले त्यस क्षेत्रको तापक्रम बढिरहेको छ । त्यही भएर रेडपान्डाको संख्या अझै अग्लो स्थानमा सर्दै गएको छ ।’ उनीहरू जलवायु परिवर्तनलाई थेग्नुभन्दा अघि नै बासस्थान गुमाउनुपर्ने अवस्था आएको छ । ठूला पान्डाको तुलनामा रेडपान्डा हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणाली जोगाउनका लागि पनि आवश्यकीय प्रजाति रहेको छ ।यो जन्तुको प्रजाति सम्भवतः लोखर्केसँग मिल्दोजुल्दो हुन सक्छ । तर, दुई करोड ६० लाख वर्षपूर्व नै उद्भव प्रक्रियाबाटै पान्डा र लोखर्केको पूर्वज छुट्टिएको कतिपय जीवशास्त्रीको दाबी छ । यसका साथै ठूलोखाले पान्डासँग तिनीहरूको निकट सम्बन्ध देखिँदैन । ठूलो पान्डा भालु परिवारभित्र पर्छ । रेडपान्डाको पारिवारिक संरचना बेग्लै छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री