शुक्रबार, १४ वैशाख २०८१

नक्कली डाक्टर मन्त्रालय तानिएका

समयपोष्ट २०७३ साउन ३१ गते ८:४३

काठमाण्डौ– नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेर सरकारी जागिर खाने मन्त्रालय तानिएका छन् । स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाणपत्रधारी तीन जना डक्टरलाई मन्त्रालय तानेको हो ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली प्रमाणपत्रधारी डक्टरलाई विरामी जाँच्न नदिन निर्देशन दिएपछि मन्त्रालयले यस्तो कदम चालेको हो । प्रधानमन्त्रीको निर्देशनपछि ३ जना डक्टरलाई मन्त्रालय तानिएको र एकजनालाई सेवाबाट हटाईएको स्वास्थ्यसचिव सेनेन्द्रराज उप्रेतीले रातोपाटीसंग बताए । ‘प्रहरी नक्कली प्रमाणपत्र भेट्याएका चार जना सरकारी सेवामा रहेको मध्ये तीनजना सथाई प्रकृयामा रहेकोले मन्त्रालय तानिएको छ’ उप्रेतीले भने ‘बाँकी एक जना करारमा रहेकोले उनलाई सेवाबाट हटाईसकिएको छ ।’

मन्त्रालय तानिनेमा लुम्बिनी अंचल अस्पत्ताल बुटवलका डाक्टर सुनिल आचार्य, नारायणीका सरोज कुमार सिँह र पन्नालाल पटेल छन् । आचार्य र सिँह लोकसेवाको प्रकृयाबाट र पटेल विकास समितिबाट स्थायी भएका डाक्टर हुन् । नारायणीकै कुश कुमार गिरी भने करारमा रहेकोले सेवाबाट हटाईएको छ । उनी विकास समिति अन्तर्गत करार सेवामा रहेका थिए ।

निजी स्वास्थ्य संस्थामा रहेका नक्कली प्रमाणपत्र धारी डाक्टरहरुको लागि भने नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरी लाईसेन्स निलम्बन गर्न निर्देशन गरीएको मन्त्रालयले जनाएको छ । लाईसेन्स निलम्बनका लागि काउन्सिलले पूर्ण बैठकाबाटमात्र गर्ने नियम छ । त्यसैले पूर्ण बैठक बसेर कार्वाही प्रकृया अगाडी बढाउने तयारी भईरहेको काउन्सिलले जनाएको छ ।

नेपाल प्रहरीले क्वाक अपरेशन सञ्चालन गरेर नक्कली प्रमाणपत्रका आधारमा डाक्टर पेशामा संलग्न ३७ जना चिकित्सक फेला पारी अदालतमा मुद्धा चलाएको थियो । तर उनीहरुलाई कार्वाही प्रकृया अगाडी बढाउन नेपाल मेडिकल काउन्सिलले पहल नगरेपछि मुद्धा चलिरहेकै बखत डाक्टरहरु काममा फर्किएका थिए । नक्कली प्रमाणपत्रधारी डाक्टरहरुले विरामी जाँचेको थाहा पाएपछि आईतबार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यसचिव उप्रेतीलाई टेलिफोन गरी उनीहरुलाई कार्वाही प्रकृया अगाडी बढाउन भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री