बिहीबार, १३ वैशाख २०८१

दूध बेचेरै ५० लाखभन्दा बढी आम्दानी

समयपोष्ट २०७५ भदौ १५ गते ८:५०

म्याग्दी स्थित बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् ।

Advertisement

दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४÷७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका व्यवस्थापक कोपीलाल पौडेलले जानकारी दिनुभयो । यहाँको दूध सहकारीले सदरमुकाम बेनी र तातोपानी बजारमा बिक्री गर्ने गरेको छ ।

सहकारीले किसानबाट प्रतिलिटर दूध रु ५७ देखि रु ५८ सम्ममा खरीद गर्ने गरेको छ । सहकारीले सो दूध डेरी उद्योगलाई प्रतिलिटर रु ६७ देखि रु ७५ सम्ममा बिक्री गर्छ । सहकारीले सिंगा, सुर्केमेला र ठूलोखोलाका किसानबाट दूध संकलन गर्दैआएको छ । सहकारीमा ५५ किसान आवद्ध छन् । “एक जनाले दैनिक ४५ लिटरसम्म दूध बिक्री गर्ने गर्छ,” व्यवस्थापक पौडेलले भन्नुभयो ।

सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारको समस्या टरेको स्थानीयवासी मीना खत्रीले बताउनुभयो । दूध बेचेको पैसाले बालबच्चा पढाउन तथा घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ ।

बेनीमा वधशाला

सदरमुकाम बेनीमा व्यवस्थित वधशाला सञ्चालनमा आएको छ । बेनी नगरपालिकाले हाडेभिरमा यसै हप्तादेखि उक्त वधशाला सञ्चालनमा ल्याएको हो । उपभोक्ताको १५ प्रतिशतसहित रु १२ लाखमा वधशाला निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

यहाँ दुई वधस्थल निर्माण गरिएको छ । वधशालाबाट निस्कने फोहर व्यवस्थित गर्न खाडल बनाइएको छ । खाडलमा जम्मा हुने फोहरलाई मल बनाइ बिक्री गरिनेछ । राँगा र भैँसी बाँध्न टहरा बनाइएको छ । यसअघि बेनीको खुल्ला मञ्च नजिकै तथा डल्लेपीपलमा अव्यस्थितरुपमा राँगा भैँसी वध गरिँदै आएको थियो । दुर्गन्धबाट वरपरका बस्तीका बासिन्दा प्रभावित भएका थिए । वधशाला निर्माणपछि मासु बिक्री गर्न सहज भएको व्यवसायीले बताएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री