बुधबार, १२ वैशाख २०८१

सवल अर्थतन्त्र निर्माणको दिशामा अघि बढेका छौ : अर्थमन्त्री खतिवडा

समयपोष्ट २०७५ भदौ १३ गते १२:०३

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालको अर्थतन्त्र अहिले कुनै घाटामा नरहेको दावी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको १९ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आफूहरु सवल अर्थतन्त्र निर्माण गर्ने दिशामा अघि बढेको बताए ।

Advertisement

अर्थमन्त्री खतिवडाले भने ,‘समग्र अर्थतन्त्रका राम्रा पक्षलाई एउटा दुइवटा पक्षको नकाव लगाएर नढाकिदिनुहोला, केहि नराम्रा पक्ष पनि होलान तर तपाईहरुको फोकस धेरै राम्रा पक्षमा हुनुपर्छ भन्ने मलाइ लाग्छ ।’

अर्थमन्त्री खतिवडाले व्यापार घाटा धेरै भयो भनेर अत्तालिनुपर्ने अवस्था नरहेको समेत बताए । अर्थमन्त्री खतिवडाले नेपालले सुखसयल र मोजमस्तीको लागि सामान आयात गरे या विकास निर्माण र लगानीको लागि गरे भन्ने कुरामा पत्रकार प्रष्ट हुनुपर्ने बताए ।

‘हामीले व्यापार घाटाको संरचनात्मक पक्ष बुझ्नुपर्छ, नेपालले जहाज किन्यो, जहाज आउँछ व्यापार घाटा बढ्छ, अनि सेवाको आम्दानी भएको कसैले देखिँदैन, अनि सरकारले गाली खान्छ’, अर्थमन्त्री खतिवडाले भने ।

यसैगरी खतिवडाले देश सम्बृद्धिको दिशातर्फ अघि बढेकाले त्यसमा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताए । अर्थमन्त्री खतिवडाले आर्थिक विषयमा आर्थिक पत्रकारले खोजमूलक रिपोर्टिङ गरेमा त्यसले देशलाई नै फाइदा पुग्ने तर पत्रकारले जथाभावी लेख्दा भने समस्या हुने बताए ।

अर्थमन्त्री खतिवडाले भने,‘आर्थिक पत्रकार समाजलाई मेरो अनुरोध के हो भने, तपाईँहरु अनुसन्धानात्मक काममा पनि लाग्नुस्’, अर्थमन्त्री खतिवडाले भने, ‘सनसनीपूर्ण समाचारले एकदिन त मजा आउला तर त्यो टिक्दैन, आजकाल दिनैपिच्छे एजेन्डा फेरिन्छन तर त्यसलाई अनुसन्धान गरेर लेख्दा स्वस्थ आर्थिक विकासमा फाइदा नै पुग्ला ।’

सरकारले काम गरिरहेको भन्दै नतिजाको लागि केही समय पर्खनुपर्ने उनको भनाई छ । ‘सरकारले काम गरिरहेको छ, कतिपय कामको आज नै रिजल्ट नआउन सक्छ, तर सरकारले काम गरिरहेको त्यसको रिजल्ट केही समय पछाडी राम्रै आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री