शनिबार, १५ वैशाख २०८१

संसदमा प्रधानमन्त्रीले भने- म सिंगापुरलाई विकास गरेर उदाहरण प्रस्तुत गर्ने लि क्वान बन्न सक्दिन

समयपोष्ट २०७५ भदौ १२ गते ९:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र कसैले किस्तीमा हालेर दिएको नभई संघर्ष गरेर प्राप्त गरेको उपलब्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति जनाए ।

Advertisement

‘यो लोकतन्त्र कसैले हामीलाई किस्तीमा हालेर दिएको होइन । दशाकौं संघर्ष गरेर हामीले नै हासिल गरेका हौं’, ओलीले भने, ‘तानाशाही दिनहरुमा सँगै जेल जिवन बिताएका साथीहरुले नै सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा म छक्क पर्छु ।’

कतिले लि क्वान युले सिंगापुरलाई विकास गरेर उदाहरण प्रस्तुत गर्ने गरेको भएपनि आफू लोकतन्त्रप्रति विश्वास राख्ने व्यक्ति भएकाले लि क्वान जस्तो बन्न नसक्ने बताए ।

‘लोकतन्त्रप्रति जीवनसमर्पित गरेको हुनाले मेरो अलि बढी आशक्ति पनि हुन सक्छ । म त्यसकारण विकासका लागि लि क्वान जति कठोर हुन सक्दिन । हामी लोकतन्त्रको बाटो बाटै विकास हासिल गर्न सक्छौं ।’

साथै प्रधानमन्त्री ओलीले मुलुकी संहितालाई लिएर सरकारको आलोचना गर्नु ‘पोहोर मरिन सासु, अहिले आयो आँसु’ भने जस्तै भएको बताए ।

ओलीले मुलुकी संहितामा कुनै कमजोरी भए सच्याउन सरकार तयार रहेको बताए । तर, अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भएको कानूनलाई लिएर सरकारको ओलाचना गर्नु नसुहाउने उनले बताए ।

कांग्रेसको नाम नलिइ उनले आफ्नो नेतृत्वमा कानून बनेकोमा गर्व गर्ने र त्रुटिपूर्ण रहेको भन्दै सरकारलाई आरोप लगााएको बताए । उनले भने, ‘यस्ता विषयमा किन राजनीति गर्ने ? भुलचुक छ भने यो सदनले गरेको हो । हामीले गरेको हो । सच्याउन सकिन्छ ।पोहोर बन्यो ऐन । पोहोर लाग्यो लापमोहन । चुपचाप निरो सुते झै सुतिरहे । अहिले जारी हुने बेलामा सरकारको अनुहार हेरेर यो त सहन सकिँदैन । पोहोर मरिन सासु, अहिले आयो आँसु धरधरी !’

बनाउने अगुवाई जसले गरेको भए पनि, जसको सरकार भए पनि आरोपित नगर्ने भन्दै उनले कमजोरी भए सच्याउन सकिने बताए । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘सदनबाट पारित भएको कानूनको सम्मान गर्छु । कमकमजोरी भए सच्याऊँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री