शुक्रबार, १६ चैत २०८०

बिमस्टेक सम्मेलन : यी हुन् नेपालका विशेष प्राथमिकताका क्षेत्र

समयपोष्ट २०७५ भदौ १२ गते ५:४९

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट आज नेपाल आउँदैछन् । उनी आएसंगै नेपाल र म्यानमारबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुवै देशका प्रधानमन्त्री सहभागी हुनेछन् ।

Advertisement

त्यस्तै भदौ १३ गते भोलि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना र भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन्।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ गते बिहीबार काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी बिमस्टेकको चौथो शिखर सम्मेलनको औपचारिक तयारीका लागि आज परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ । सचिवस्तरिय बैठकका लागि हिजै सदस्य मुलुकका परराष्ट्र सचिवहरु काठमाडौं आइसकेका छन् । सचिवस्तरीय बैठकको परराष्ट्र सचिव शंकरदास बैरागीले अध्यक्षता गर्नेछन् । बैठकका लागि भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका परराष्ट्र सचिवहरु सोमबार काठमाडौं आएका हुन् ।

सचिवस्तरिय बैठकमा समग्र बिमस्टेकको तयारी र एजेण्डाबारे छलफल हुनेछ । तयार एजेण्डाहरु बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुने र बिहीबारबाट सुरु हुने सम्मेलनमा प्रस्तुत गनिरे छन् ।

नेपालका प्राथमिकता
बिमस्टेकका १६ वटा प्राथमिकता क्षेत्रमध्ये नेपालले ५ क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । जसअन्तर्गत पहिलो प्राथमिकतामा कनेक्टिभिटी (सम्पर्क सञ्जाल) छ र यसमा रेलवे, सडक, विद्युत् प्रसारणलाइन, सूचना प्रविधिका लागि अप्टिकल फाइबर विछ्याउने तथा हवाई सम्पर्क जस्ता विषय समावेश छन् ।

शिखर सम्मेलनमा व्यापार तथा लगानी प्रवद्र्धनका विषय पनि प्राथमिकतामा परेका छन् । यीनै विषयसँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयले तयारी गरेको छ ।
बिमस्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतंकवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन जस्ता विषय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री