शनिबार, १५ वैशाख २०८१

मेडिकल प्रोफेसन ट्रेडिङ विजनेश होइन

समयपोष्ट २०७३ साउन ३० गते १३:३९

ख्यातिप्राप्त हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डे नेपालका चर्चित डाक्टरमध्येको सूचीमा पर्छन् । सिन्धुपाल्चोकको गरिब परिवारमा जन्मेर पनि चिकित्साक्षेत्रमा प्रवेश गर्ने अवसर पाएका पाण्डे अहिले निजी क्षेत्रबाट खोलिएको हालसम्मकै सबैभन्दा ठूलो र सुविधासम्पन्न अस्पताल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डिरेक्टर छन् । विदेशमा पढेर नेपालमै केही गर्नुपर्छ भन्ने सोच राखेर १९ वर्षअघि नेपाल फर्केका उनले अन्तर्राष्ट्रियस्तरको अस्पतालको अवधारणा ल्याए । जसका लागि उनले विभिन्न क्षेत्रका १ सय २६ जना लगानीकर्ता खोजेर ग्रान्डी अस्पतालको नेतृत्व गरिरहेका छन् । ‘नेपालमै बसेर केही गरौं भन्ने इच्छा थियो । म  सधैं केही राम्रो काम गर्नुपर्छ भन्ने सोच राख्थें । राम्रो काम गरेर निरन्तर त्यसमै लागिरहँदा सफल भइँदोरहेछ,’ उनी भन्छन् । डाक्टर पाण्डे पैसाभन्दा पनि बिरामीले उनीप्रति राखेको विश्वासलाई ठूलो ठान्छन् । भन्छन्, ‘स्वास्थ्य क्षेत्रप्रति मेरो माया छ । हरेक बिरामीले मलाई पे्ररित गरेरै म यो क्षेत्रमा छु ।’ डाक्टर पाण्डेका बुवाआमा उपचार नपाएर बित्नुपर्यो, त्यही पीडाले गर्दा हरेक क्षेत्र, वर्ग र समुदायका मानिसले स्वास्थ्य सेवा पाउनुपर्नेमा उनी जोड दिन्छन् । उनले उपचार गर्दागर्दै कुनै बिरामीको मृत्यु भइहाले उनीे उक्त बिरामीले तिर्नुपर्ने सबै रकम छुट गरिदिने बताउँछन् । भन्छन्, ‘बिरामीको मृत्यु भएपछि परिवारका सदस्य रोइरहेको संवेदनशील अवस्थालाई ध्यानमा राखेर शुल्क फिर्ता गरिदिन्छु ।’ मृत्यु भइसकेका आफन्तका लागि शुल्क तिर्दा मनमा थप चोट पर्ने भएकाले शुल्क नलिने गरेको उनी बताउँछन् ।
जुन संस्थामा गए पनि बिरामीसँग घुलमिल भइहाल्ने उनको स्वभाव छ । ‘म पहिले बी एन्ड बी हस्पिटलमा थिएँ, त्यहाँ पनि मलाई बिरामीले त्यत्तिकै मन पराए । पछि मेडिकेयरमा गएँ, त्यहाँ पनि यो अस्पताल त डा. पाण्डेकै हो कि भन्थे मानिस ।’ उनी भन्छन्, ‘म बिरामीका लागि काम गर्छु । मलाई एउटा हेल्थपोस्ट दिए पनि त्यसैगरी काम गर्ने हो । म ग्रान्डीमा पनि लगानीकर्ता, डाक्टर, स्टाफ सबैका लागि काम गर्छु ।’
आफू जुन संस्थामा गयो, त्यो संस्थाका लागि ज्यान दिएर काम गर्ने गरेको उनी बताउँछन् । ‘म जुन संस्थामा काम गर्छु त्यसका लागि ज्यान दिएर काम गर्छु ।’ डा. पाण्डे भन्छन्, ‘ग्रान्डी त मेरै अवधारणामा सुरु गरिएकाले यो संस्थासँग मेरो आत्मा गाँसिएको छ ।’बिहान चार बजेदेखि राति १२ बजेसम्म निरन्तर खटेर ग्रान्डीको नेतृत्व गरिरहेका डा. पाण्डेसँग भूकम्प, तरार्ई आन्दोलन र नेपालको स्वास्थ्य क्षेत्रबारेसमयबोधले गरेको कुराकानी ।

Advertisement


अस्पताल सुरुवातको चरणमै भूकम्प र तराई आन्दोलनको सामना गर्नुभयो, अहिले ग्रान्डीको अवस्था कस्तो छ ?
भूकम्पपछि हामीलाई धेरै दुःख भयो । यो अस्पताल एउटा नाफा कमाउने संस्था भए पनि भूकम्पबाट यहाँ उपचार गराउन आउने बिरामीलाई निशुल्क उपचार गर्र्यौ। यसमा १ सय २२ बिरामीको मेजर अप्रेसन भयो । करिब १५ सयजनालाई आउट पेसेन्ट केयर भनेर गर्यो । त्यसपछिको तीन÷चार महिनामा अस्पतालले बिस्तारै पिकअप लिँदै गएको थियो तर फेरि तरार्ई आन्दोलनले धेरै ठूलो समस्या पार्यो । आर्थिक हिसाबबाट हेर्दा गएको एक महिनायता निकै राम्रो र बिरामी कन्फिडेन्सको हिसाबले पनि राम्रो ग्रोथ गरेको छ ।
अब पुरानै अवस्थामा फर्कन कति समय लाग्ला ?
अस्पताल पुरानै अवस्थामा त झन्डै–झन्डै फर्किसकेको छ । तर, पुरानो शवलाई म्यानेज गर्न अर्को वर्ष दिनजति लाग्छ । त्यति धेरै महिना कमाउनै सकिएन, खर्चमात्र भयो । बल्ल–बल्ल अस्पतालको नाम चल्दै बिरामीको कन्फिडेन्स बढ्दै थियोे, फेरि भूकम्पले चर्कियो । त्यसलाई रंगरोगन र प्लास्टर गर्दा अर्को एक वर्षमा पुरानाभन्दा धेरै राम्रो अवस्थामा पुगिसक्छ ।
अन्तर्राष्ट्रिय भनेर अस्पताल खोल्नुभयो तर यहाँका हुनेखाने त यहाँका अस्पतालमा भर नपरेर विदेश जानेक्रम त रोकिएको देखिँदैन ?
मानिसको मन जित्नलाई समय लाग्छ । मलाई ग्रान्डी अस्पतालको मात्र पीर छैन । हामीले सबैभन्दा पहिले सरकारी अस्पतालको सशक्तीकरण गर्नुपर्छ । किनभने ९५ प्रतिशत गरिब भएको देशमा ग्रान्डीमात्र अस्पताल भएर पुग्दैन । ग्रान्डीको काम भनेको विदेश उपचार गराउन जाने मानिसलाई यहाँ ल्याउने हो । ग्रान्डीमा उनीहरूको विश्वास बढाउनु हो । उपभोक्तासँग पैसा छ भने ऊ आफूलाई जहाँ बेस्ट र कन्फिडेन्स छ, त्यहाँ जान्छ । उनीहरूको मन ग्रान्डीले जित्नका लागि कम्तीमा पनि अबको पाँचदेखि १० वर्ष लाग्छ । तर, हाम्रो मुख्य ध्यान त्यहाँ नभएर वीर अस्पताल, वीर ट्रमा सेन्टर, पाटन अकाडेमी, टिचिङ अस्पताल, प्रहरी, सैनिक अस्पताल यिनको अझ सशक्तीकरण गरेर त्यहाँ राम्रा डाक्टर, राम्रो वातावरण बनाएर सर्वसाधारणलाई बेस्ट हेल्थ दिनुपर्छ । ग्रान्डी त दुई सय बेडको एउटा सानो अस्पतालमात्र हो । यसले सबै समस्या समाधान गर्दैन, गर्छ भन्नु पनि गल्ती हुन्छ । एकातिर विदेश जानेलाई रोक्नका लागि कन्फिडेन्स बिल्डअप गर्नुपर्छ, टेक्नोलोजीे विकास गर्न सक्नुपर्छ । अर्को भएको संरचनालाई बलियो बनाइयो भने निजीमा नगएर सरकारी संस्थामा पैसा तिर्न सक्ने मानिसलाई ल्याउनुपर्छ । यो काम अरू देशले गरेका छन् भने नेपालले किन गर्न नसक्ने ? यसमा हामीले ध्यान दिनुपर्छ ।

भनेपछि ग्रान्डी विदेश उपचार गराउन जाने सक्ने हैसियत भएका धनीका लागि मात्र हो ?
सबैभन्दा पहिले अस्पताल सर्भाइभ गराउनुपर्छ । गरिबका लागि हामीकहाँ सिद्धार्थ वार्ड छ, त्यहाँ पाँच सय रुपैयाँको बेडमा बिरामी भर्ना हुन्छन् । टेक्नोलोजीका कारण यहाँको सर्टेन अप्रेसन महँगो हुन्छ । हामीले धेरै सस्तोमा एनजीओ प्लास्टिक सर्जरी गरेका छौं । झन्डै–झन्डै गंगालालको प्राइभेट क्लिनिकको हिसाबले यहाँ गर्न सकेका छौं । हामीले नगरेको होइन तर जग्गा किन, भवन बनाऊ, सरकारलाई कर तिर, झन्डै आठ सयदेखि हजारजना स्टाफको तलब तिर्न पर्दा त धेरै गाह्रो छ । त्यो पैसामात्र कमाउन पनि हामीलाई गाह्रो छ । हाम्रोजस्तो अस्पताललाई सरकारले ५,६ प्रतिशतमा म लोन दिन्छु भन्न सक्नुर्यो । तर, तैंले पनि मैले भनेबमोजिम काम गर्नुर्यो भनेर । गरिबलाई यति प्याकेजको गर, त्यो ब्याजमा गरिदिएको सहुलियतअनुसारको प्याकेज हो भनेर सरकारले गरिदयो भने त हामी गर्न सक्छौं । यसरी गहुँदैन भने बाँच्न सजिलो हुन्छ, होइन भने कसरी बाच्ने ?
chakraraj-pandeyतपाईंको अस्पतालको लगानी के–कति छ, यसबारे बताइदिनुस् न ?
अहिले यहाँ १ सय २६ जना लगानीकर्ता हुनुहुन्छ । उहाँहरूको १ अर्ब ५० करोड जतिकोे लगानी छ । त्योबाहेक केही बैंकको लोन छ, केही प्रमोटरको लोन छ । यो सबै गर्दा यो अस्पतालमा झन्डै ५ अर्बको लगानी छ ।
इन्टरनेसनल अस्पताल भन्नुभएको छ, लगानी पाँच अर्ब भन्नुभयो तर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धाका लागि त यो लगानी कम हुँदैन ?
पाँच अर्बको पुँजी गइसक्यो । अब हामीले पुँजी बढाउने भनेको भएको स्रोत–साधनलाई प्रयोग गरेर त्यसलाई हाम्रो ब्रेक इभनमा लैजानुपर्छ, आर्थिक हिसाबले सबल हुनुपर्छ । मेडिकल प्रोफेसन ट्रेडिङ बिजनेसजस्तो होइन । आर्थिक हिसाबले सबल हुनका लागि आउनेजति बिरामी सबैलाई सिटी गरिदिने, एमआरआई गरिदिने, अप्रेसन गरिदिने गर्न त मिल्दैन । हेल्थ केयरमा आवश्यकताअनुसारको निर्णय र एभिडेन्स मेडिकल टुथअनुसार उपचार गर्नुपर्छ । आर्थिक रूपमा सबल हुनका लागि आज इमरजेन्सीमा बिरामी आएन भनेर स्टाफ कटौती गर्न, टेक्नोलोजी माइनस गर्न त मिल्दैन । यसैले ट्रेडिङ बिजनेस र हेल्थ केयरबीचको फरक यो हो । अर्को कुरा खालि पैसा कमाउँछु भनेरमात्र बिरामी आउँदैन । आर्थिक हिसाबले ग्रोथ गर्न सकिँदैन । यसका लागि टेक्नोलोजीमा मात्र होइन, शिक्षामा पनि लगानी गर्नुपर्यो । मेडिकल एजुकेसन, सर्ट टर्म ट्रेनिङ प्रोग्रामलगायत फरक ठाउँमा लगानी गर्नुपर्छ ।
अहिले अरू लगानी ल्याउनुभन्दा भएको लगानीलाई सदुपयोग गरेर ग्रोथ अचिभ गर्नुपर्छ । मानिसको यहाँ आउनेक्रम बढाउनुपर्छ । तर सजिलो बाटो छैन, निकै उकालो बाटो हो यो, तर कोसिस गर्दै जानुपर्छ । हार खाएर हुँदैन, हेल्थ सबैलाई चाहिने कुरा हो । त्यसैले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नका लागि हामी अध्यनशील बन्नुपर्यो, अनुशासित बन्नुपर्यो। साथसाथै भएको कुरालाई राम्रो सदुपयोग गर्नुपर्यो । र, बिरामीको मन जित्न सक्नुपर्यो ।
यति धेरै लगानीकर्ताको नेतृत्व गर्नुभएको छ, उनीहरूले प्रतिफल पनि खोज्लान्, कसरी म्यानेज गर्नुभएको छ ?
यहाँका लगानीकर्ता एकदम असल मनको हुनुहन्छ । उहाँहरूको सोच नेपालमा केही होस् भन्ने छ । हाम्रो लगानी पानीमा नजाओस् भोलि यसले दुई पैसा डिभिडेन्ट पनि देओस् भन्नुभएको छ । तर, यहाँ लगानी धेरै भएकाले तुरुन्त प्रतिफल पाएका छैनौं । त्यसैले उहाँहरूलाई हामीले सम्झाएका छौं । यसको नेतृत्वको कुरा गर्दा कसै न कसैलाई त घरको माया चाहिन्छ । मलाई यो ठाउँको माया छ । किनभने त्यति धेरै मानिसलाई लगानी गर्न लगाएँ । यो पैसा नडुबोस् भनेर पनि त दौडिनुपर्यो। अर्को कुरा बिरामीले यति धेरै विश्वास गर्नुभएको छ । कसै न कसैले सबैलाई मोटिभेट गर्नुपर्यो । म मेजर स्टेक होल्डर होइन, मोटिभेटर र इन्स्पायर हो । किनकि मानिसलाई दुःख परेको बेला रात–दिन नभनी उसको ज्यान जोगाउने काम गर्दा आफ्नो गुडविल पनि भयो, धर्म पनि भयो र लगानीकर्ता पनि दुःखी भएनन् । आज ग्रान्डीको नाम चम्किँदै गएपछि लगानीकर्तामा अहिले तुरुन्त पैसा नपाए पनि मैले लगानी गरेको छु भन्ने फिल भएको छ । त्योखालको विचारले उहाँहरूलाई प्रेरित गर्दै जानुपर्यो । तर, लङटर्ममा पनि उहाँहरूलाई हामीले डिभिडेन्ट दिन सकेनौं भने त उहाँहरू दुःखी हुनुहुन्छ । त्यसैले हामीले त्यस्तैखालको स्टाटेजी बनाएर मानिसको मन जित्न सकिन्छ । तपाईंलाई मप्रति विश्वास भयो भने तपाईं मलाई भेट्न जहाँबाट पनि आउनुहुन्छ तर म देख्दै ठगजस्तो भए त तपाईं आउनुहुन्न । तपाईं मात्र नआउने होइन, आउने मानिस पनि भड्काइदिनुहुन्छ । तर, हाम्रो देशमा राम्रो काम गर्नेलाई गाह्रो छ । किनभने राम्रो काम गर्ने मानिस थोरै छन् । कमिसनबाट पैसा कमाउन सजिलो छ । तर, बिहान चार बजे आउ, अप्रेसन गरेर राति १२ बजेसम्म बसेर फेरि बिहान चार बजे अप्रेसन गर्न आउन त गाह्रो हुन्छ । घरमा बसी–बसी कमिसन आउँछ भने किन काम गर्ने ? तर, मेरो विचारमा हाम्रो लाइफ त्यति लामो छैन । जसले जति फुर्ती दिए पनि राजनेता, उद्योगी, डाक्टर सबैको लाइफ छोटो छ । मैले प्रत्येक दिन देखेको त्यो दिनका लागि बाँच्ने हो, काम राम्रो गर्दै जाने हो, राम्रो काम गरेपछि नतिजा नराम्रो आउँदैन । त्यो हिसाबले मानिसको मन जित्दै अगाडि बढाउँदै छु । मैले सधैं भन्ने गर्छु– सत्यको बाटो सिधा हुन्छ । त्यसैले मेरो एउटै स्टाटेजी भनेको अरूले पाँच घन्टा काम गर्छन भने म १५ घन्टा गर्छु । अरूले १५ घन्टा गर्छन् भने म २४ घन्टा गर्छु । मेरो स्टाटेजी यति हो ।
अहिले अस्पतालमा अनेक विकृति देखिन्छ, बिरामी किनबेचसम्मका कुरा छापामा आए । यसले पब्लिकमा सबै अस्पताल उस्तै हुन् भन्ने छाप परेको छ । यसको अन्त्य कसरी गर्नुपर्ला ?
मनको लोभलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ । यसको सिस्टम विकास गर्नुपर्छ । तपाईंले हरेक दिन मनलाई नियाल्नुपर्छ । आवश्यकता र लोभबीच फरक छुट्याउनुपर्छ । अहिले सरकारी सिस्टमदेखि लिएर जग्गा दलालीसम्म खालि पैसाको मात्र कुरा छ । जग्गा छ, बिरुवा काटेको छ, बाटो फोहोर छ । बिचरा बिरामी दुःखी भएर न अस्पताल आएको हो, स्वस्थ मान्छे  त अस्पताल आउदैन । तर बिरामी किनबेच गर्ने व्यापारी प्रवृत्ति बढेको छ । पहिले–पहिले डाक्टरले बिरामी केयर गथ्र्याे, डाक्टरको फि ५० रुपैयाँमात्र थियो । अब त तपाईंले बिरामी लिएर अस्पताल गयो भने १०,१५ प्रतिशत अस्पतालबाट माग्ने । डाक्टरले बिरामी रिफर गरेबापत पैसा माग्ने भयो । म यसरी बाँच्न चाहन्न । मलाई यसबाट धन लुट्नु पर्दैन । यति पढेर यति धेरै संघर्ष गरेर यस्तो दुःखी बन्न म सक्दिनँ । त्यसैले हरेक क्षेत्रबाट हामीले यसमा आवाज उठाउनुपर्छ । हामी इमानदार बन्नुपर्छ, बरु मेरो फि यति हो भनेर लिऔं । तिर्न सक्नेले तिर्छ नसक्नेले तिर्दैन । यो स्वास्थ्य क्षेत्रमा मात्र होइन, जहाँ पनि यस्तै छ । अहिले सबैभन्दा हाम्रा आँखाबाट आँसु आउँछ । सबैभन्दा पहिले होल सिस्टमलाई सुधार्नुपर्छ, यसको अर्को बाटो छैन । जबसम्म सरकारले कडा नीति लिएर यसलाई रोक्दैन तबसम्म यो देशको स्वास्थ्यस्थिति राम्रोहुँदैन  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री