वर्षाले किसानलाई राहत
लामो समयको पर्खाइपछि वर्षा हुँदा यहाँका किसानलाई राहत भएको छ ।
पानी नपर्दा रोपेका खेतमा धाँजा फाटेका र बीउ सुक्न लागेको अवस्थामा शुक्रबार बेलुकादेखि वर्षा भएपछि किसानलाई राहत भएको हो । क्षीरेश्वरनाथ नगरपालिका—४ हरैयाका किसान दिपो यादवले रोपाइँको बेला वर्षा नहुँदा समस्या भएकामा हाल केही राहत भएको बताउनुभयो ।
धनुषामा ४८ हजार सात सय ६० हेक्टर जमिन धानखेती योग्य भएकामा पछिल्लो समय ४२ हजार हेक्टरमा मात्र खेती हुने गरेको छ । कृषिज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवका अनुसार ६५ प्रतिशत खेतमा आकाशेपानीको भरमा धानखेती हुँदै आएको छ । शुक्रबारदेखि पानी परेकाले अब रोपाइँमा सुधार हुने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति धुनषाका पूर्वसभापति रहेका ६५ वर्षीय रामदेव यादवले पछिल्लो समय धानखेती महँगो भएको र त्यसमा पनि मौसम चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । धानखेती महँगो भए पनि लागतअनुसार उत्पादन र त्यसको बजार मूल्यसमेत पाइने नगरेको उहाँको गुनासो छ ।
जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेकामा त्यसमध्ये ७० प्रतिशत किसान धानखेतीमा संलग्न छन् । कृषि जनगणना २०७८ अनुसार जिल्लामा विस्तारै धानखेती घट्दै गएको छ ।
जिल्लाको १८ पालिकामध्ये गणेशमान चारनाथ, मिथिला र क्षीश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकाबाहेक १४ स्थानीय तहका किसानले व्यावसायिक रुपमा धानखेती गर्दै आएका छन् ।
प्रतिक्रिया