शनिबार, १७ साउन २०८२

सर्त पूरा हुने भएपछि मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने

समयपोष्ट २०८२ साउन १७ गते १६:२५

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफ्नो सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका छन्।

शनिबार बुढानीलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको छलफलमा लामाले सशर्त राजीनामा दिन सहमत भएका हुन्। छलफलमा लामाले साउन १४ गते नियुक्त गरेका मन्त्रीहरू गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्त राखेका थिए। यो सर्तमा सहमति भएपछि राजीनामा दिने निर्णय भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले बताए।

‘हामीले तीन मन्त्रीको शपथ ग्रहण सुनिश्चित गर्नुपर्ने अडान राख्यौँ। सभापतिज्यू र इन्द्रबहादुर बानियाँले सहमति जनाउनुभयो,’ चित्रकारले भने, ‘त्यसैले मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय गर्नुभयो।’

लामाले आइतबार हेटौँडामा मन्त्रिपरिषद् बैठक र पत्रकार सम्मेलनपछि राजीनामा दिने योजना बनाएका छन्। साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामालाई राजीनामा दिन पार्टीभित्र दबाब बढेको थियो।

शुक्रबार देउवाले लामालाई बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ सांसद सहभागी थिए। पार्टीभित्रको आन्तरिक विभाजनलाई समाधान गरी अघि बढ्ने सहमति पनि भएको चित्रकारले बताए।

यद्यपि, मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने स्वास्थ्यका कारण ग्राण्डी अस्पताल, काठमाडौँमा उपचाररत छन्। मूत्र थैलीमा सङ्क्रमण भएपछि बिहीबार अस्पताल भर्ना भएका देवकोटा अझै डिस्चार्ज भएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री