शनिबार, १७ साउन २०८२

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको अध्यक्षमा राजदुत थापा निर्वाचित

समयपोष्ट २०८२ साउन १६ गते ९:३८

गोकुल श्रेष्ठ, न्यूयोर्क

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ (यूएन) का लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदुत लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को सन् २०२६ का लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा विहिबार भएको बैठकबाट थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा निर्वाचित भएपछि थापाले नेपाललाई यस महत्वपूर्ण भूमिकाका लागि दिएको विश्वास र समर्थनप्रति गरेकोमा सबै सदस्य राष्ट्रप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो । उहाँले नेपालका लागि यो ऐतिहासिक अवसर भएको भन्दै इकोसकको अध्यक्षता गर्नु बहुपक्षीयताप्रतिको प्रतिबद्धता र निष्पक्ष, समावेशी, न्यायपूर्ण विश्व निर्माणमा योगदान गर्ने अभिलाषाको प्रमाण भएको दावी गर्नुभयो ।

अध्यक्षको कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष थापाले जलवायु संकट, आर्थिक अन्योल र गहिरिँदो असमानताले बहुपक्षीय प्रणालीमाथि विश्वास घट्दै गएको भन्दै प्रविधिमा पनि अवसरसँगै चुनौतीहरू भएकाले यो बेला इकोसकको भूमिका झनै महत्वपूर्ण बनेको बताउनु भयो ।

“सार्वभौमिक भविष्यका लागि परिवर्तनकारी, न्यायपूर्ण, नवप्रवर्तनशील र समन्वित कार्यहरू” नारा रहेको २०२५–२०२६ सत्रको अध्यक्ष बन्नुभएका थापाले नेपालको अध्यक्षता डेलिभरी बेटर भन्ने आदर्शमा आधारित हुने बताउनु भयो ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् एक प्रमुख अंग हो, जसले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, मानवअधिकार, वातावरण, महिला सशक्तिकरण र विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने विभाग हो । यसले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्रसंघको विभिन्न निकायहरू, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजिओहरू) सँग मिलेर विश्वव्यापी विकासका लक्ष्यहरू प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान, तथा अनुगमनको काम गर्दछ ।

राजदुत थापा दुई वर्ष अघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्युयोर्क आउनुभएको हो । उहाँले यस अघि बेल्जिय तथा इयूका लागि राजदूतको भूमिका सफलता पूर्वक निर्वाह गरिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री