सोमबार, २३ असार २०८२

नेपालका १२ परियोजनाको २५१ मेगावाट विद्युत निर्यातका लागि भारतले दियो स्वीकृति, दक्षिण एसिया कै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा नेपाल

समयपोष्ट २०८१ भदौ ३ गते १३:२१

Advertisement

भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार भारतीय केन्द्रीय विद्युत प्राधिकरणले उक्त विद्युत नेपालबाट निर्यातका लागि स्वीकृति प्रदान गरेको हो ।

जसअनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । यो स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्ने छ ।

पछिल्लो समय भारतबाट २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा नेरु. १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।

Advertisement

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको हो ।

इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।

भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको जनाइएको छ । जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।

‘नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ’, जारी प्रेस विज्ञप्तीमा भनिएको छ -‘यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ ।’

यसअघि बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी मिति २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री