बुधबार, ४ भदौ २०७६

शिल्पाले यसरी खोलिन् छविको अत्याचार

समयपोष्ट २०७६ असार २७ गते १३:४१

असार ८ गते बिहान १० बजेको थियो, म दुईजना साथीसँग ‘कबिर सिंह’ फिल्म हेर्न जान्छु भनेर छवीजीलाई भनिरहेकी थिएँ। त्यो पनि नाइट शो होइन, बिहान ११ बजेको शो।

फिल्म हेर्न जान्छु भन्ने बित्तिकै उहाँले मलाई सोध्नुभयो, ‘को-को जान लागेको?’ जवाफमा मैले विनिता दिदी र उहाँको मामाको छोरीसँग जान लागेको जानकारी दिएँ। ल, ठिकै छ भन्दै हुनुहुन्थ्यो, त्यतिबेलै उहाँको मोबाइलमा कसैको फोन आयो, एक्कासी अनुहारको रङ बदलियो।

उहाँले फोन काट्नुभयो अनि सोध्नुभयो, ‘तँ नगएको भए कोसँग जान्थ्यो तेरो साथी?’ म गएको भएपनि, नगएको भएपनि ऊ उसको मामाको छोरीसँग जान्थ्यो होला। त्यो तपाईंले सोध्ने कुरै होइन नि भनेर मैले भनेँ। ‘को कोसँग जान्छ भनेर किन सोध्या? बरु तपाईंको प्लान के छ त्यो भन्नु न,’ मैले भनेँ।

तपाईं, म र पृथ्वी जाने हो भने जाऔं, म उनीहरुसँग जान्न भनेँ। त्यसपछि उहाँ ‘होइन, भन् न भन्’ भन्दै झर्किन थाल्नुभयो। ‘तँ कोसँग कहाँ जान्छस्, मैले जानकारी त पाउनुपर्‍यो नि!’ भन्न थाल्नुभयो।

त्यो जानकारी त तपाईंलाई छँदैछ नि! ‘फेरि तीन महिनादेखि उहाँले मलाई गाडी नलैजा’ भन्न थाल्नुभएको थियो। त्यसैले बिहान कतै छोड्दिनुपर्‍यो भने उहाँले नै छोड्दिनुहुन्थ्यो, पिकअप पनि उहाँले नै गर्नुहुन्थ्यो। ‘कहाँ जान्छु, के गर्छु त्यो त तपाईंलाई राम्रोसँग थाहा छ’ भनेर भनेँ मैले।

त्यसपछि उहाँले एकदमै नराम्रो शब्द बोल्नुभयो। तँ र…, दिउँसै रंगौलिया मनाएर हिड्ने केटी। तँलाई मैले छोडिसकेपछि तँ कहाँ जान्छेस्, जान्छेस् नि! मलाई के थाहा?’ भन्दै नानाथरी बोल्न थाल्नुभयो।

यसरी नानाथरी गाली गरेपछि एउटा केटी मान्छेलाई रिस उठ्छ कि उठ्दैन? त्यो शब्दको अर्थ के हो भनेर सोधेँ मैले। ‘तैँले मलाई हेपेको? म तेरो लोग्ने हो, मैले तँलाई जहाँ जान्छेस् भन्छु, त्यहाँ जान्छेस्, जहाँ जान्नस् भन्छु त्यहाँ जान्नस्’ भन्दै झम्टिन थाल्नुभयो।

म त दुईजना केटी साथीसँग पो जान लागेको हो त। त्यो पनि तपाईं आफैंले मलाई त्यो ठाउँमा छोड्दिँदै हुनुहुन्छ भने के-को समस्या? तैपनि तपाईंलाई समस्या हुन्छ भने तपाईं पनि हिड्नु न त’ भनेर भनेँ।

मेरो कुरा सुन्नै चाहनुभएन। तैंले मलाई हेपेको? तैले मलाई हेपेको? भन्दै गालामा झ्याम्म झापड हान्नुभयो। मेरो गाला तात्तियो। झननन भयो।। कानमा ठूलो आवाज बज्यो। त्यसपछि म थचक्क चकटीमा बसेँ।

मैंले बाहिर ल्याउने भए बिहे गरेकै कुरा ल्याऔं। नत्र यो लभसभको कुरा नगरौँ भनेँ। नत्र म तपाईसँग इन्टरभ्यू नै दिन्न भनेँ। रिलेसनलाई किन बिकाउने भनेर प्रश्न गरेँ।

उहाँले यस्ता शब्दले बोल्नुभयो कि, त्यति गाली त मैले जिन्दगीमा कहिल्यै सुनेको पनि थिइनँ होला। उहाँ त्यतिमै रोकिनुभएन। ‘तैंले मलाई हेपेको? तैले मलाई हेपेको?’ भन्दै सिधै घाँटी निचोर्न आउनुभयो। त्यत्रो मोटो मान्छेले घाँटी थिचेपछि मलाई शरीर चलाउन पनि गाह्रो भयो।

त्यस्तो अवस्थामा चल्ने भनेकै खुट्टा रहेछ। मैले उहाँलाई लात्तले हाल्न बाँध्य भएँ। मार्ला नै जस्तो भयो। डरले थरथर कामेँ। त्यसैले केही नसोचिकन सिधै त्यहाँबाट भागेर सम्झना दिदी (रौनियार)को अफिस स्टारमलमा आइपुगेँ। त्यसदिन विकास दाई (रौनियार) र सम्झना दिदीकोमा नै बसेँ।

मेरो कपडा सबै घरमै छुटेको थियो। त्यसेले भोलिपल्ट विकास दाईले (रौनियार)ले ‘कपडा पनि लिएर आऊ, उसको रिएक्सन पनि हेरौँ न त’ भनेपछि म उहाँसँगै घर गएँ। उहाँले भनेजस्तो झगडाको दिन मलाई विकास दाई लिन आउनुभएको होइन। कपडा लिन गएको दिन उहाँले एक शब्द केही बोल्नुभएन।

उहाँले त्यतिबेला हानेको झापडले मेरो कानको जालीमा प्वाल पर्‍यो। डाक्टरले ‘हियरिङ’मा समस्या हुनसक्छ भनेको छ। साउन्ड चेक गराउन बाँकी छ। भोलि मैँले कान कम सुन्ने हो कि के हो, रिपोर्ट आउन बाँकी छ। अहिले पनि चिसो खाँदा, तातो खाँदा कान एकदमै दुख्छ।

मलाई पहिल्यैदेखि उहाँले धेरै कुरामा रोक्दै आउनुभएको थियो। अहिलेको पल्ट त अलि बढी नै भएको कारणले मात्रै म प्रशासनमा जान बाध्य भएकी हुँ।

उहाँबाट मैले यस्तो यातना पहिलोपल्ट भोगेको होइन। बिहे गरेको एक महिनापछि नै उहाँको व्यवहार पूरै परिवर्तन भयो। जतिखेर पनि शंका गर्नुहुन्थ्यो। मलाई कुनै कामको अफर आउँदा छलफलका लागि छविजीकै कान्तिपुर फिल्म एकेडेमीमा बोलाउने गर्थें। त्योभन्दा अघि छविजीकै नमस्ते नेपालमा बोलाउने गर्थें। कतै रेष्टुरेन्टतिर गएर डिल गर्ने गरेको थिइनँ। किनकी मलाई थाहा थियो नि त, उहाँ शंका गर्नुहुन्छ भन्ने।

पछि उहाँले कान्तिपुर फिल्म एकेडेमी मैले बेचिसकेँ, अब त्यहाँ जाने होइन भन्न थाल्नुभयो। त्यसपछि म कहाँ जाने? कान्तिपुर फिल्म एकेडेमीकै छेउमा बुइँगलमा पनि क्याफे थियो। त्यहाँको म्यानेजर र छवीजीको राम्रो मित्रता थियो।

अर्को ठाउँमा जाँदा शंका गर्नुहुन्थ्यो, त्यसैले म त्यही ठाउँमा जान थालेँ। म्यानेजरले नदेखेको बेला पनि म आफैँ ‘सर के छ हालखबर?’ भन्दै बोलाउन जान्थेँ। ताकी भोलि छवीजीले शंका गर्ने बाटो नहोस् भनेर। तर, पनि उहाँले शंका गर्न छाड्नुभएन।बिहे गरेको एक महिनापछि उहाँको कस्तो–कस्तो रुप देखियो। त्यो त मलाई बाहेक कसलाई थाहा होला?

प्रिमियरमा कतै उहाँलाई बोलाएको छैन तर मलाई मात्र बोलाएको हुन्थ्यो भने त्यही झगडा सुरु हुन्थ्यो। ‘म इन्डस्ट्रीको पुरानो फिल्ममेकर तर मलाई नबोलाएर तँलाई मात्रै किन बोलायो? तेरो त्यो फिल्मको निर्माता र डिरेक्टरसँग त्यस्तो के सम्बन्ध छ?’ भन्दै झगडा गर्नुहुन्थ्यो।

उहाँबाहेक अरुको फिल्मको प्रमोसनमा हिड्दा पनि शंका गर्नुहुन्थ्यो। प्रमोसनमा जान्छु भन्दा ‘ए, एक महिनाको सुटिङमा तेरो लभ पर्‍यो त्यो सँग’ भन्दै नमिठो आरोप लाउनुहुन्थ्यो।

त्यसैले मलाई डर लाग्थ्यो प्रमोसनमा हिँड्न। उहाँको फिल्मको प्रमोसनमा हिड्दा म खुलेर बोल्न पाउने, हिरोसँग पनि खुलेर बोल्न पाउने। तर अरुको काम गरेको मुभी रिलिज हुन लाग्दा हिड्न नपाउने? सधैँ मै मात्र नराम्रो हुनुपर्ने?

बिहे गर्नुअघिको छवी र बिहे गरेको १ महिनापछि छवीबीच मैले नसोचेको अन्तर पाएँ। त्यो देखेर म त छाँगाबाट खसेजस्तो फिल भयो। बिहेअघि एकदमै माया देखाउनुहुन्थ्यो। अफिसमा जाँदा जहिले पनि रेखा दिदी (थापा)को मात्रै नराम्रो कुरा हुन्थ्यो। जो आउँछ, रेखा दिदीकै नराम्रो कुरा गर्थ्यो। छवीजीलाई सबैले ‘पोजिटिभ’ देखाउँथे।

सबैको कुरा सुन्दा बिचरा छवीजीले यस्तो माया गर्दागर्दै रेखा दिदीले किन छोडेर गएको होला जस्तो फिल हुन्थ्यो। बिचरा यो मान्छे! कसरी बस्छ होला एक्लै, के खान्छ होला, यस्तो बिरामी छ, कसले हेरचाह गर्छ होला? यस्तैयस्तै… भन्ने लाग्न थाल्यो। एकदमै माया जाग्न थाल्यो उहाँप्रति। उहाँको व्यवहार नै त्यस्तो प्रेमिल थियो। तर बिहे गरेको एक महिनापछि उहाँको कस्तो–कस्तो रुप देखियो। त्यो त मलाई बाहेक कसलाई थाहा होला?

सामान्य झापड हान्ने, शंका गर्ने, तथानाम गाली गर्ने त ठिकै थियो। बिहे गरेदेखि तीन वर्षसम्म सहँदै आएकी थिएँ। फेरि आफूले भोगेको यातना बाहिर ल्याउन पनि डर लाग्थ्यो क्या मलाई। मैले यो कुरा बाहिर ल्याएँ भने सबै मिलेर मलाई नै दबाइदिन्छन् होला जस्तो लाग्थ्यो। किनभने उहाँ फिल्म क्षेत्रको पुरानो फिल्ममेकर हुनुहुन्थ्यो। सबैले उहाँकै सपोर्ट गर्छन् होला, सबै मेरै विरुद्ध खनिएलान् भनेर एकदमै डर लाग्थ्यो।

फेरि ‘तँ जहाँ गएपनि मलाई केही फरक पर्दैन। सबै मेरै सपोर्टमा छन्’ भनेर सधैँ भन्ने गर्नुहुन्थ्यो। यसले मेरो मनोबल झनै कमजोर बनाउँथ्यो।

तर, कतिन्जेल यसरी बाँच्ने? भित्रभित्रै दबिएर, पीडा लुकाएर कतिन्जेल खुशी हुने? मलाई सबैभन्दा बढी चित्त नबुझेको त, उहाँ चलचित्र विकास बोर्डको सम्मान थाप्न जाँदाखेरी हो।

मलाई धेरैअघिदेखि गरिएको व्यवहार घरेलु हिंसा हो, यस्तो गर्दा कारबाही हुन्छ भन्ने ज्ञान पनि थिएन। कानुन छ, कानुनले मलाई न्याय दिन्छ भन्ने थाहा पाएपछि लाग्यो, ‘यो मान्छे सम्मान थाप्न लायकको हो र?’भोलि मजस्तै धेरै युवती यसरी प्रताडित हुनुपर्ने हुनसक्छ। त्यसैले म कानुनको शरणमा जानुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय उजुरी दिन गएँ।

उहाँको दोश्रो श्रीमती गीताञ्जली सुनुवारबारे सबैलाई थाहै छ। उहाँ त पूरै डिप्रेसनमा गएर आत्महत्या गर्न बाध्य हुनुभएको होला। अझ रेखा थापाबारे त थाहा नहुने को होला? उहाँसँग छुटिसकेपछि उहाँबाट पिल्सिएका कुरा रेखा दिदीले बाहिर ल्याउनुभएकै हो।तर, उहाँले छुट्टिनुअघि पिल्सिँदै गरेको अवस्थामै कानुनको शरणमा पुग्नुभएको भए आज मैले यस्तो दुःख पाउँदिनँ थिएँ कि जस्तो लाग्छ।

 

मैले घटना भएको १५ दिनसम्म किन उजुरी गरिनँ भन्ने प्रश्न पनि आयो। पाँच दिनसम्म त के गर्ने गर्ने भनेर मैले निर्णय लिन सक्ने अवस्थामा नै थिइनँ। यसरी मार्नै आउँछ होला भन्ने त मैंले सोचेकै थिइनँ। माया गर्छु भनेर मेरो ममीड्याडीसँग हात मागेको मान्छेलाई आज मलाई यस्तो गर्दा के भयो होला? यो कुरा बाहिर ल्याएपछि मिडियाले मलाई सपोर्ट गर्ने हो कि होइन, मेरो कुरा सुन्ने हो कि होइन, म त पूरै डरमा थिएँ। त्यसपछि मैले सबैसँग सल्लाह लिन थालेँ। हस्पिटलमा कान जँचाएको रिपोर्ट देखाउन थालेपछि केही सोसियल वर्करले ‘तिमीले गल्ती गरेको छैनौँ भने तिमीले न्याय पाउँछौ, कानुनले न्याय दिन्छ’ भनेर सल्लाह दिनुभयो।

फेरि उता छविजीले मलाई बारम्बार ‘म आफू अगाडि नदेखिई पछाडिबाट मान्छे ल्याएर म तँलाई मार्छु, मार्छु’ भन्दै आइरहनुभएको थियो। त्यो भनेपछि मलाई शान्ति सुरक्षा चाहिएन त? भोलि मैंले यही फिल्डमा काम गर्नुपर्छ, मलाई गाह्रो हुँदैन त? त्यसैले मैले शान्ति सुरक्षाको माग गर्दै प्रशासन गुहार्न पुगेँ।

मैले यो १५ दिनको बीचमा मलाई फकाउन आउनुहोला कि, माफी माग्नुहोला कि भनेर धेरै पर्खिएँ। तीन वर्षदेखि सहेर सँगै बसेकी थिएँ, त्यसैले अझै पनि आशा थियो। माया त गर्नुहोला जस्तो लागेको थियो तर फकाउन आउनु त परको कुरा, एक कल फोन पनि गर्नुभएन।

एकपल्ट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी दाईलाई पठाउनुभयो। उहाँले ‘पोलाइट वे’मा तपाईंको फिल्मी करिअर धरापमा पर्न सक्छ है’ भनेर जानुभयो।

त्यसपछि रेखा दिदी (थापा) पनि आउनुभयो मलाई सम्झाउन। ‘सानोतिनो झगडा हो भने मिल्नू’ भन्नुभयो। त्यसपछि मैले उहाँलाई सबै कुरा भनेँ। सबै कुरा भनेपछि उहाँले ‘ओहो, यो मान्छे त नसुध्रिने रैछ, गीतान्जलीको पालादेखि नै लागेको बानी रैछ, अब तिमी जे गर्छौ गर’ भनेर फर्किनुभयो। ‘मेरो स्वर्णिम नेपाल भन्ने संस्था पनि छ। चाहियो भने म मद्दत गर्न सक्छु’ भनेर आँट दिएर जानुभएको थियो मलाई।

धेरैको प्रश्न आउँछ, बिहे गरेको यत्रो वर्ष भइसक्दा पनि किन बाहिर सार्वजनिक नगरेको भन्ने। बिहे गरेको एक महिनापछि नै मैले उहाँको रुप देखिसकेको थिएँ। त्यसपछि मैले उहाँलाई सोधेको थिएँ, ‘हामीले बिहे गरेको कुरा सार्वजनिक गर्दा फिल्ममा केही घाटा हुन्छ कि हुँदैन?’ उहाँले ‘घाटा भइहाल्छ नि, बिहे गरेको थाहा पाएपछि हामी दुबैको करिअर धरापमा पर्न सक्छ, हाम्रो फिल्म पनि नचल्न सक्छ’ भन्नुभयो।

‘हाम्रो लभ परिरहेको छ, त्यही कुरालाई निरन्तरता दिऔं’ भन्नुभयो। मैंले बाहिर ल्याउने भए बिहे गरेकै कुरा ल्याऔं। नत्र यो लभसभको कुरा नगरौँ भनेँ। नत्र म तपाईसँग इन्टरभ्यू नै दिन्न भनेँ। रिलेसनलाई किन बिकाउने भनेर प्रश्न गरेँ। ल्याउने भए सत्य कुरा ल्याऔं। नत्र केही पनि गरौँ भनेँ। उहाँले मान्नुभएन। उहाँ अफेयरको कुरा चलाउँदै जानुभयो। म मिडियाबाट पन्छिन खोजेँ, त्यो विषयमा प्रवेश गर्न चाहिनँ। अन्तिममा केही नलागेपछि एक महिनाअघि मात्रै उहाँले बिहे स्वीकार गर्नुभएको हो।

बिहेअघि उहाँ मलाई ‘म्यूजिक भिडियो नगर्नू’ भन्नुहुन्थ्यो। तर बिहेपछि ‘आफ्नो खर्च जुटाउनका लागि गर्नू’ भन्नुभयो। किनभने उहाँले मलाई एक पैसा पनि खर्च दिनुहुन्नथ्यो। घरको आधा खर्च आफैं व्यहोर्नुपर्थ्यो। मैले म्यूजिक भिडियो नै गरिनँ भने मलाई खान मन लागेको, लाउन मन लागेको कुरा कहाँबाट ल्याउने? समस्या हुन्थ्यो। त्यसैले म आफैं कमाउँथे। नेपाल लाइभका लागि अनिल यादवले लेखेका छन्

प्रतिक्रिया