शुक्रबार, १४ वैशाख २०८१

भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल हेर्न नमिल्ने सूचीमा !

समयपोष्ट २०७६ असार २७ गते ९:२१

Advertisement

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ ।

पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

आजको राजधानी दैनिकमा खबर छ,प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

न्यायाधीश कार्कीले कानुन व्यवसायी हुँदा जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा बहसमा भाग लिएका थिए । यसकारण, सो मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । सर्वोच्चले सो मुद्दाको अर्को पेसी २३ साउनका लागि तोकेको छ ।

यसअघि सो मुद्दामा सर्वोच्च अदालतले तीनपटक फाइल झिकाउन आदेश दिँदा पनि अख्तियारबाट जबाफ नआएपछि २३ जेठमा न्यायाधीश ईश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले कारबाही गर्ने चेतावनीसहित सो निर्णय आफैं लिएर आउन आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशपछि अख्तियारका सचिव महेश्वर न्यौपानेले दुई सातापछि आफंै उपस्थित भएर सबै कागजात पेस गरिसकेका छन् ।

‘सर्वोच्चले माग गरेबमोजिमको कागजात हामीले सबै पठाइसकेका छौं,’ अख्तियारका प्रवक्ता प्र्रदीप कोइरालाले भने, ‘पहिला पठाउन पर्दैन होला भनी राखेको सबै फाइल सर्वोच्चमा पेस गरिसकेका छौ ।’

कतिपय कागजात संवेदनशील हुने भएकाले अख्तियारबाट अख्तियार प्राप्त व्यक्ति आफंै उपस्थित भएर अदालतले माग गरेको सबै निर्णयको फाइल बुझाइसकेको प्रवक्ता कोइरालाले बताए ।

अख्तियारले जोशीको सम्पत्तिमाथि अनुसन्धान अधिकृत तोकेको निर्णयको फाइल सर्वोच्च पुगिसकेको जनाएको छ । जोशीको सम्पत्तिमाथि विस्तृत अनुसन्धान गर्न अख्तियारका तत्कालीन सहन्यायाधीवक्ता प्रेमराज कार्कीलाई तोकिएको थियो ।

उनलाई तोक्ने भनेर २५ वैशाख २०६० मा गरिएको निर्णय अख्तियारको अभिलेखमा नभेटिएको सचिव न्यौपानेले सर्वोच्चलाई गराएको जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री