जोशी हाइड्रोपावरले आजदेखि हकप्रद शेयर निष्काशन गर्दै
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (साउन १५, २०८२) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात् १ कित्ता शेयर बराबर ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ हुनेछ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। तसर्थ, असार ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति भदौ ४, २०८२ सम्म तोकिएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई हकप्रद निष्काशनका लागि गरेको रेटिङ्गमा केयरएपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धकको कार्यालय, कम्पनीको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्काशन र बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।
हकप्रद शेयरबाट संकलित रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्न तथा संस्थापक विरेन्द्र बहादुर न्यौपानेबाट लिएको सापटी तिर्न प्रयोग गरिनेछ।
प्रतिक्रिया