साउनका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर: औसतमा कमी, केही बैंकले बढाए
वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार, असारको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदरमा कमी आएको छ।
असारमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.९०२ प्रतिशतविन्दु रहेकोमा साउनमा ०.२०४५ प्रतिशतविन्दुले घटेर ५.६९७५ प्रतिशतविन्दु कायम भएको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.२६ प्रतिशतविन्दुले घटेको छ।
२० वटा वाणिज्य बैंकहरूमध्ये १४ वटाले साउनमा ब्याजदर घटाएका छन्। प्रभु बैंकले सर्वाधिक १.८५ प्रतिशतविन्दुले ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ, जुन वाणिज्य बैंकहरूमा सबैभन्दा न्यून हो। असारमा यो बैंकले ६.१ प्रतिशतसम्म ब्याज प्रदान गरेको थियो।
व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रदान गर्ने भएको छ। यो बैंकले साउनमा व्यक्तिगत निक्षेपमा ०.०१ प्रतिशतविन्दुले ब्याजदर बढाएर ६.२६ प्रतिशत पुर्याएको छ। असारमा यो दर ६.२५ प्रतिशत थियो। यद्यपि, संस्थागत मुद्दति निक्षेपमा भने यो बैंकले ब्याजदर यथावत राखेको छ।
हिमालयन बैंकले ब्याजदर सबैभन्दा धेरै बढाउने बैंकको रूपमा देखिएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा ०.५० प्रतिशतविन्दुले वृद्धि गरी ५.५ प्रतिशतबाट ६ प्रतिशत पुर्याएको छ भने संस्थागत निक्षेपमा १ प्रतिशतविन्दुले बढाएर ४ प्रतिशतबाट ५ प्रतिशत कायम गरेको छ।
ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, र सिद्धार्थ बैंकले साउनमा व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरी असारकै दरलाई निरन्तरता दिएका छन्।
कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ०.०५ प्रतिशतविन्दु घटाएर ५.४० प्रतिशत र संस्थागत निक्षेपमा ०.९५ प्रतिशतविन्दु घटाएर ३.५० प्रतिशत ब्याजदर तोकेको छ। एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपमा ०.३० प्रतिशतविन्दु बढाएर ६.२ प्रतिशत र संस्थागत निक्षेपमा ५.२५ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ०.०५ प्रतिशतविन्दु घटाएर ५.४० प्रतिशत र संस्थागत निक्षेपमा ०.२५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत ब्याजदर तोकेको छ। कुमारी बैंकले व्यक्तिगत निक्षेपमा ०.१० प्रतिशतविन्दु घटाएर ५.६१ प्रतिशत र संस्थागत निक्षेपमा ०.४० प्रतिशतविन्दु घटाएर ४.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नेपाल एसबीआई बैंकले व्यक्तिगत निक्षेपमा ०.१५ प्रतिशतविन्दु घटाएर ५.३५ प्रतिशत र संस्थागत निक्षेपमा ४.३५ प्रतिशत ब्याजदर तोकेको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपमा ०.२५ प्रतिशतविन्दु घटाएर ५.५० प्रतिशत ब्याज प्रदान गर्नेछ। संस्थागत निक्षेपमा भने असारकै दर यथावत राखेको छ।
प्रतिक्रिया