आइतबार, ४ साउन २०८२

सौर्य एयरलाइन्स विमान दुर्घटना : छानबिन समितिले औँल्यायो यस्ता त्रुटि

समयपोष्ट २०८२ साउन २ गते १७:४०


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी अन्तिम प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ। गत ९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको बम्बार्डियर सीआरजे-२०० (कलसाइन ९एन–एएमई) विमान दुर्घटनाग्रस्त हुँदा १९ मध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटना जाँच आयोगले बुझाएको प्रतिवेदनले दुर्घटनाका कारण र जिम्मेवारीबारे गम्भीर त्रुटिहरू औँल्याएको छ।

प्रतिवेदनअनुसार, टेकअफको क्रममा विमानले आवश्यक न्यूनतम गति प्राप्त गर्नुअघि नै पाइलटले विमानको अगाडिको भाग (नोज) असामान्य रूपमा तीव्र गतिमा माथि उठाउन खोज्दा विमान ‘डीप स्टल’ मा गएको थियो। डीप स्टल भनेको विमानको सन्तुलन गुम्ने अवस्था हो, जसले विमान अनियन्त्रित भई खसेको आयोगको निष्कर्ष छ।

गलत स्पीडकार्ड प्रयोग: सौर्य एयरलाइन्सले लामो समयदेखि पाइलटहरूलाई गलत भी-स्पिड भएको स्पीडकार्ड प्रयोग गर्न दिएको थियो। यो त्रुटि पत्ता लगाउन र सच्याउन एयरलाइन्स पूर्ण रूपमा असफल भएको प्रतिवेदनमा उल्लेख छ।

सिस्टमेटिक त्रुटि: पाइलटहरूले बारम्बार तीव्र पिच रेटमा टेकअफ गरेको कुरा व्यवस्थापनले थाहा पाउन नसकेको वा रोक्न कुनै कदम नचालेको आयोगको आरोप छ।

ग्राउण्ड ह्यान्डलिङमा कमजोरी: सामानको तौल नगर्ने, जथाभावी राख्ने र सुरक्षित रूपमा नबाँध्ने जस्ता गम्भीर लापरबाही भएको पाइएको छ। उडान प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डको पालना नभएको समेत ठहर गरिएको छ।

फर्स्ट अफिसरले गलत स्पीडकार्ड प्रयोग गरी टेकअफको गति गणना गरेको र क्याप्टेनले त्यसलाई जाँच नगरी स्वीकार गरेको उल्लेख गरिएको छ ।

क्याप्टेनले विमानको नोजलाई खतरनाक रूपमा छिटो माथि उठाएको, जुन उडान सुरक्षाको हिसाबले गम्भीर गल्ती मानिन्छ।

लामो समयदेखि प्रयोगमा रहेको गलत स्पीडकार्डको त्रुटि चालक दलका कुनै पनि सदस्यले पत्ता लगाउन नसकेको उल्लेख गरिएको छ ।

कमजोर निरीक्षण र नियमन, उडान डाटा निगरानीको अभाव, र अधुरो डाटा रेकर्डिङ प्राधिकरणको कमजोरीका रूपमा प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा गलत स्पीडकार्ड प्रयोग र कार्गो ह्यान्डलिङमा लापरबाही जस्ता जोखिमपूर्ण अभ्यासहरूलाई समयमै पहिचान गर्न नसकेको उल्लेख गरिएको छ ।

विमानको ब्ल्याक बक्समा महत्त्वपूर्ण डाटा रेकर्ड नभएकोबारे प्राधिकरण अनभिज्ञ रहेको प्रतिवेदनमा उल्लेख छ।

दुर्घटनास्थलमा पुग्ने आपतकालीन बाटो बन्द हुनु र उद्धार तथा आगो निभाउने कार्य प्रभावकारी नहुनु विमानस्थल व्यवस्थापनको कमजोरी रहेको निष्कर्ष छ।

दुर्घटनास्थलबाट प्रमाणका रूपमा रहेका ब्यागेज सौर्य एयरलाइन्सको कार्यालयमा पुग्नुले विमानस्थलको सुरक्षा र व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिवेदन बुझ्दै यसलाई कुनै मुलाहिजा नराखी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयले प्रतिवेदनलाई आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

प्रतिवेदनले कुनै एक व्यक्ति वा संस्थालाई मात्र दोषी नठहर्‍याएर सौर्य एयरलाइन्स, चालक दल, नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा रहेका कमजोरीहरूलाई जिम्मेवार ठहर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री