बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा, छानबिन समिति गठन
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि नक्कली कागजात पेस गरेर नियुक्ति लिएको आरोपमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार ओझा स्वतः निलम्बनमा परेका छन्। समितिले उनको नियुक्तिपछिको कार्यशैली, निर्णय प्रक्रिया, र कागजातको वैधतामाथि छानबिन गर्नेछ।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। पूर्वपत्रकारसमेत रहेका ओझाले प्रतिस्पर्धी पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक दामोदर बसौलालाई पछाडि पार्दै उक्त पद प्राप्त गरेका थिए।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ओझाले पेस गरेका कागजातमा कैफियत देखिएको भन्दै छानबिन अघि बढाएको छ। अख्तियारले अर्थ मन्त्रालयबाट नियुक्तिसँग सम्बन्धित कागजात झिकाएर अनुसन्धान गरिरहेको जनाइएको छ।
ओझाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ। अधिवक्ता इन्दिरा धमलाले दायर गरेको रिटमा उनको योग्यता नपुगेको दाबी गरिएको छ। सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
प्रतिक्रिया