एन आई सी एशिया बैंकद्वारा ग्राहकहरूलाई प्यान अद्यावधिक गर्न अनुरोध
लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा ग्राहकहरूको खाताबाट कट्टी गरिएको करको विवरण समावेश गर्न प्यान अद्यावधिक गर्नुपर्ने भएको हो।
बैंकले ग्राहकहरूलाई आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न panupdate.nicasiabank.com पोर्टल वा NIC ASIA MoBank मोबाइल बैंकिङ्ग एपमा रहेको “PAN Update” विकल्पको प्रयोग गर्न सुझाएको छ। साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयबाट प्यान अद्यावधिक गर्न आवेदन दिन सक्नेछन्।
प्यान अद्यावधिक भएपछि निक्षेपकर्ताको ब्याज भुक्तानीमा कट्टी गरिएको करको विवरण E-TDS प्रणालीमा प्रविष्ट हुने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ। यसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले लिएको छ।
बैंकले प्यान अद्यावधिक नगरेका कारण E-TDS मा ब्याजकर दाखिला नहुने वा थप समायोजन गर्नुपर्ने अवस्थामा बैंक जिम्मेवार नहुने कुरा पनि स्पष्ट पारेको छ। यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएका ग्राहकहरूलाई नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बर १६६०–०१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया