यी नदीमा आकस्मिक बाढीको जोखिम, आवश्यक सतर्कता अपनाउन अनुरोध
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारण बदलीको अवस्था छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि, बाढी पूर्वानुमान महाशाखाले डोटी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्लाहरूमा बहने स-साना नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको जनाएको छ।
त्यस्तै, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलञ्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालिकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला, बैतडी र आसपासका जिल्लाहरूमा बहने स-साना नदीहरूमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान छ।
मनसुनी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। सहरी र तराई क्षेत्रमा डुबानको सम्भावना छ भने ठूला तथा स-साना नदी, खोला र नालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया