ललितपुर र काठमाडौँमा प्रहरीको छापा : क्रिप्टो कारोबार र ठगीमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले क्रिप्टोकरन्सी कारोबार र ठगीमा संलग्न रहेको आरोपमा ५२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना चिनियाँ नागरिक पनि छन्। ललितपुर महानगरपालिका–४, दमकल चोकस्थित भाडामा लिइएको घर र काठमाडौं महानगरपालिका–१३ मा रहेको कार्यालयमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा २९ वर्षीय जान लुन, २७ वर्षीय चेन जियाहावो, ४१ वर्षीय लिन दे, ३२ वर्षीय सु ज्हेंग, ३० वर्षीय लिउ जेजुआन र ३३ वर्षीय सु लिंगहुवा रहेका छन्।
सीआईबीका एसपी युवराज खड्काका अनुसार, पक्राउ परेका व्यक्तिहरूले कल सेन्टर र सफ्टवेयर कम्पनी सञ्चालन गर्ने बहानामा उक्त घर भाडामा लिएका थिए। उनीहरूले ‘मेटो’ नामक डाटिङ एपमार्फत युवतीहरूलाई प्रयोग गरी ठगी धन्दा सञ्चालन गरेको अनुसन्धानबाट खुलेको छ। यो समूहले नेपालमा गैरकानुनी मानिएको क्रिप्टोकरन्सी कारोबारमा मानिसहरूलाई फसाएर ठगी गरेको पाइएको छ।
प्रहरीले छापा मार्ने क्रममा ठगीमा प्रयोग गरिएका डिभाइसहरू बरामद गरेको छ भने आरोपितहरूको साथबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगद पनि फेला परेको छ। एसपी खड्काले अनुसन्धानलाई थप गहन बनाउँदै अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताए।
प्रतिक्रिया