रोल्पा जीप दुर्घटना अपडेटः ७ जनाको मृत्यु, ८ जना घाइते

यात्रुसहितको जिप सोमबार दिउँसो दुर्घटना हुँदा यसमा सवार ७ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

Advertisement

रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको हो । मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । उनीहरूको सनाखत हुन भने बाँकी छ ।

रोल्पा प्रहरीका डीएसपी भरत लामाका अनुसार पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हो । चालकले पहिरो छलेर केही अग्लो भागबाट अघि बढाउन खोज्दा जिप पछाडि सर्दै सडकबाट तल खसेको बताइएको छ । माडी गाउँपालिका–२, घर्तीगाउँबाट अपराह्न ४ बजे हिँडेको उक्त जिप करिब एक घण्टापछि दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते र मृतक एकै गाउँका हुन् ।

स्थानीयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकाघरका आमाछोरा र दाजुभाइसमेत छन् । यात्रुहरू किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका थिए । जिपमा चालकसहित १५ जना सवार थिए । चालक दीपक थापामगर पनि घाइते भएका छन् ।

घाइतेहरूलाई जिल्ला अस्पताल ल्याइएको छ । जिपमा सवार दिलकुमारी घर्तीले जिप खस्नुअघि हामफालेर गाउँले गुहारेपछि घाइतेको तत्काल उद्धार सम्भव भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री