निर्वाचनमा जित्नेले भन्दा हार्नेको खर्च तीन गुणा बढी

निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गरेको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार गत फागुन २१ गते सम्पन्न निर्वाचनमा जित्नेले भन्दा हार्ने उम्मेदवारले बढी खर्च गरेको पाइएको छ।

संस्थाले मुलुकभरका १६५ क्षेत्रमध्ये छानिएका १० निर्वाचन क्षेत्रका १४४ नमुना उम्मेदवारको खर्च विश्लेषण गरेको थियो। इओसी नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेदवारले औसत ८८ लाख रुपैयाँ खर्च गर्दा उपविजेताले त्यसको लगभग तीन गुणा बढी अर्थात् औसत २ करोड ८३ लाख रुपैयाँ खर्च गरेका छन्।

Advertisement

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारका लागि २५ देखि ३३ लाख रुपैयाँसम्मको खर्च सीमा तोकेको थियो। तर उम्मेदवारहरूले औसतमा ७२ लाख रुपैयाँ खर्च गरेर कानुनी दायराको व्यापक उल्लङ्घन गरेको प्रतिवेदनमा उल्लेख छ।

कुल खर्चको ६७ प्रतिशत हिस्सा पराजित उम्मेदवारहरूले गरेका छन्। यसले निर्वाचनमा स्रोत व्यवस्थापनको गम्भीर असन्तुलन रहेको देखाएको सुवेदीले बताए।

उम्मेदवारहरूले ब्यानर, र्‍याली र भोजभतेर जस्ता देखिने माध्यमभन्दा नदेखिने च्यानलतर्फ खर्च बढाएको प्रतिवेदनले औंल्याएको छ। डिजिटल प्रचार, सामाजिक सञ्जाल र अनौपचारिक परिचालन जस्ता अदृश्य माध्यम प्रयोग हुँदा अनुगमनमा कठिनाइ भएको छ।

मित्थ्या सूचना, दुष्प्रचार र चरित्रहत्या रोक्न कानुनी प्रबन्धको अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ। कुल खर्चको ८२ प्रतिशत रकम प्रचार अवधिमा र चार प्रतिशत रकम निर्वाचनकै दिन खर्च भएको पाइएको छ।

इओसी नेपालले निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारको आम्दानीको स्रोत अनिवार्य रूपमा सार्वजनिक गरिनुपर्ने सुझाव दिएको छ। डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन रोक्न प्रविधिमैत्री अनुगमन प्रणाली विकास गर्न माग गरिएको छ।

आयोगले उम्मेदवारले बुझाउने खर्च विवरण कुरेर बस्नुको सट्टा सक्रिय टोली परिचालन गरी तत्काल कारबाही गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ। बैंक खाताबाट गरिने खर्चलाई व्यावहारिक बनाउँदै निर्वाचन प्रक्रियामा सार्वजनिक लेखापरीक्षण लागू गर्नुपर्ने सुवेदीले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री