
ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ ।
महानगर प्रमुख चिरिबाबु महर्जनले ६२ लाख ६५ हजार रुपैयाँको लागतमा खरिद गरिएको उक्त क्रेनले महानगरको अग्नि नियन्त्रण क्षमतामा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ललितपुर महानगरपालिका विपद् व्यवस्थापनका क्षेत्रमा अग्रणी रहेको दाबी उनले गरे । अग्ला भवनहरूमा हुने आगलागीलाई द्रुत गतिमा नियन्त्रण गर्न यो अत्याधुनिक क्रेन प्रभावकारी हुने उनको भनाइ छ ।
महानगरले आफ्नो सेवा ललितपुर क्षेत्रमा मात्र सीमित नराखी छिमेकी जिल्ला र नगरहरूमा पनि विस्तार गर्दै आएको छ । पछिल्लो समय काठमाडौँका विभिन्न स्थानमा भएका आगलागीका घटनाहरूमा ललितपुरका दमकलले ७९ पटकभन्दा बढी सेवा प्रवाह गरिसकेका छन् ।
काठमाडौँका सिंहदरबार, हिल्टन होटल, सडक विभाग लगायतका क्षेत्रमा भएका आगलागी नियन्त्रणमा ललितपुरका दमकल र फोम प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
जेन–जी आन्दोलनका क्रममा एउटा पुरानो दमकलमा क्षति पुगेपछि महानगरले थप दुईवटा अत्याधुनिक दमकल खरिद गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ । ती दमकल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भई प्राविधिक मूल्याङ्कन भइरहेको छ ।
नयाँ खरिद गरिएको क्रेन सञ्चालनका लागि महानगरका तीनजना दक्ष ‘हेभी’ सवारी चालकहरूलाई निर्माण कम्पनीमार्फत विशेष तालिम दिने व्यवस्था मिलाइएको छ ।









प्रतिक्रिया