
नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ । यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने देखिन्छ । मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।
महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ । बाँकी हिमाली र पहाडी भू-भागका पनि एक-दुई स्थानमा यस्तो मौसमी गतिविधि हुन सक्ने देखिन्छ ।
तराई क्षेत्रमा बढ्नेछ तापक्रम
पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने गर्मी बढ्ने देखिएको छ । मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ ।








प्रतिक्रिया